बैतडीको पाटन विमानस्थलमा कालोपत्रेको काम सकियो
बैतडी: २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको बैतडीको पाटन विमानस्थलमा कालोपत्रेको काम सकिएकोे छ।
विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको हो। ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो। पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो। अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरनदेव रावलले बताए।
विमानस्थल कालोपत्रेका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो। २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भइ २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटन विमानस्थल २०५२ सालदेखि बन्द अवस्थामा रहेको छ।
पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएपनि तत्काल विमानस्थल सञ्चालनमा आउने अवस्था भने नरहेको बताइएको छ। विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ।
टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्का समेत भएको छैन्। त्यसकारण विमानस्थल कालोपत्रे भएपनि तत्काल सञ्चालन नआउने बताइएको छ।