हुलाकी राजमार्गमा पर्ने पुलको डिजाइन महाशाखामा थन्कियो
धनगढी : हुलाकी राजमार्ग अन्तरगत कैलाली र कञ्चनपुर खण्डमा पर्ने ९ वटा पुल निर्माणका लागि अन्यौलता बढेको छ। संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले पुलको डिजाइन स्वीकृतमा ढिलाई गरेपछि अन्यौलता बढेको हो।
राजमार्गमा पर्ने कैलालीका चार र कञ्चनपुरका पाँच पुलको डिजाइन सडक विभाग अन्तरगतको पुल महाशाखामा थन्किएको छ। महाशाखाबाट पुलको डिजाइन स्वीकृत नहुँदा इस्टिमेट समेत तयार भएको छैन् भने टेण्डर प्रक्रियाका लागि समेत बाटो खुलेको छैन्। ती ९ वटा पुल निर्माण नभए राजमार्ग कालोपत्रे भएपनि आवतजावतमा सास्ती हुने देखिएको छ।
कैलालीको लम्की–टीकापुर सडक खण्डमा दुई, धनगढी क्याम्पस चौक–मोहनापुल सडक खण्डमा दुई र कञ्चनपुर खण्डमा पाँच पुल निर्माणका लागि डिजाइन नै स्वीकृत भएको छैन्।
लम्की–टीकापुर ३० किलोमिटर क्षेत्रमा पर्ने दुर्गौली र बिजुलिया खोला पुल, ६ किलोमिटर क्षेत्रमा पर्ने धनगढीको राधास्वामी मन्दिर नजिक शिवनगर नालाको पुल, कैलाली नालाको पुल तथा ६२ किलोमिटर क्षेत्रमा पर्ने कञ्चनपुरको शिमरी नाला, टीसीएन खोला, झर्ना खोला, आमखैया खोला, श्याम खोलाको पुलको डिजाईन स्वीकृत भएको छैन।
परामर्शदाता कम्पनीले ९ पुलको डिजाइन पुल महाशाखामा बुजाएको भएपनि महाशाखाले ढिलाई गर्दै आएको हुलाकी सडक राजमार्ग निर्देशनालय, योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले बताए। उनले पुल निर्माणका लागि आवश्यक प्रक्रियाको सुरुवात समेत नभएको बताए।
हुलाकी राजमार्ग योजनाको दोस्रो खण्डको ठेक्का पाएको बाबा हंस सिद्धी शाही जेभीका साइड ईन्चार्ज चक्रदिप शाहले हुलाकी राजमार्गको चौडाइ बढि र अहिले रहेका पुल तथा कल्भर्टहरुको चौडाई कम भएकाले समस्या हुने देखिएको बताए। सडक निर्माणका लागि धेरै समस्या नहुने देखिएको भएपनि निर्माणपछि सवारी सञ्चालनमा समस्या हुने उनले बताए।
हुलाकी राजमार्ग तथा पुलको डिजाइन निर्माण तथा सडक निर्माणका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको हुलाकी सडक राजमार्ग निर्देशनालयले ठेक्का गर्दै आएको छ। तर डिजाइन नै स्वीकृत नहुँदा ठेक्का प्रक्रियाका लागि बाटो खुलेको छैन्।
तर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको पुल महाशाखाका इन्जिनियर थानेश्वर कार्कीले हुलाकी राजमार्ग कैलाली–कञ्चनपुर खण्डका पुलहरुको डिजाइन माहाशाखामा भएपनि प्रगतिको बारेमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
यसबारे महाशाखा प्रमुख दीपक भट्राईलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।