सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौतम बुद्ध क्रिकेट रंगशालालाई सीएमसीद्धारा १० लाख सहयोग

२०७६ माघ २४, ०३:५५ खबर संवाददाता

चितवनको रामपुरमा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन मेडिकल कलेज (सीएमसी)ले नगद १० लाख रुपैयाँ सहयोग गरेको छ। मेडिकल कलेजका प्रमुख सञ्चालक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले रंगशालालाई आर्थिक सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा शुक्रबार १० लाख रकम प्रदान गरे।

साथै चितवन मेडिकल कलेजले धुर्मस सुन्तली फाउण्डेशनले गरेको डिजाइन अनुसार ५० लाख बराबरको मेडिकल सेन्टर भवन बनाइदिने भएको छ। प्रमुख सञ्चालक डा.न्यौपानेले क्रिकेट रंगशालामा आउने खेलाडी, आवासीय रुपमा प्रशिक्षण लिने खेलाडी तथा स्थानीय समुदायका बिरामीलाई समेत लक्षित गरी सिएमसी मेडिकल सेन्टर स्थापना गरिने बताए।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म झण्डै ७ करोडभन्दा बढी रकम उठेको आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले बताए। माघ २६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ।

कमेन्ट लोड गर्नुस