सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायल र बझाङको तलकोटमा औद्योगिक क्षेत्र स्थापना गरिने

२०७६ माघ २४, ०१:३९ खबर संवाददाता

डोटीको जोरायल र बझाङको तलकोटमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ।  संघिय सरकारको मन्त्रीपरिषद् बैठकले डोटीको जोटायल गाउँपालिका वडा नम्बर २ मा र बझाङको तलकोट गाउँपालिका वडा नम्बर ६ मा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० स्थानीय तहलाई औद्योगिक ग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। तर, सोमबार बसेको बैठकले पाँचवटा स्थानीय तहलाई औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो। सरकारले यसै आर्थिक वर्षमा ७० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ।

यसका लागि वातावरणीय मूल्यांकन भइरहेको छ। ओखलढुंगाको मोलुङ गाउँपालिका ६, स्याङ्जाको चापाकोट नगरपालिका ९ र स्याङ्जाकै गल्याङ नगरपालिका १ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरिएको छ।

सरकारले यसअघि प्रदेश १ मा १, प्रदेश २ मा ३, बाग्मती प्रदेशमा ५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा २ र प्रदेश ७ मा ३ औद्योगिक ग्राम घोषणा गरिसकेको छ। सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजना सरकारको छ। यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिक ग्राम बनाउन घोषणा गरी २९ करोड ४४ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस