सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

२०७६ माघ २३, ०६:०० खबर संवाददाता

कैलाली: भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा कैलालीको तेघरीमा भूतपूर्व सैनिक सम्मेलन भएको छ। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो। 

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले पुर्खाहरुद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्न समर्पित रहेको बताए। उनले अवकास प्राप्त सैनिकहरुले विगतमा गरेको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक र आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए। उनले धनगढीमा छिट्टै सैनिक अस्पताल सञ्चालनमा आउने बताउँदै बझाङमा प्रसुती गृह सञ्चालनको तयारी समेत भइरहेको बताए। 

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका भूतपूर्व सैनिक तथा परिवारका सदस्यहरुको सहभागीता रहेको थियो।

सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पिटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्लेकार्डसहित मार्चपास गरेका थिए।

सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण समेत भएको छ।

सम्मेलनमा परिवारका ४ भन्दा बढी सदस्यलाई सेनामा भर्ना गराउने अभिभावकलाई सम्मान समेत गरिएको छ। यस्तै सम्मेलनकै अवसरमा भोलीदेखि तीन दिनसम्म स्वास्थ्य शिविर समेत सञ्चालन हुने छ।
 

कमेन्ट लोड गर्नुस