सुदूरपश्चिम सरकारले महेन्द्रनगरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना गर्दै
सुदूरपश्चिम प्रदेश सरकारले आउँदो चैत मसान्त भित्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना गर्ने भएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जडिबुटीको उत्पादन, संकलन, भण्डारण तथा खेती विस्तारका लागि चैत भित्र जटिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना गरिने जनाएको छ।
मन्त्रालयले संघिय सरकार मातहतको जबिुटी उत्पादन तथा प्रशोधन कम्पनीसंगको साझेदारीमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कम्पनी स्थापना गर्न लागिएको जानकारी दिएको हो। मन्त्रालयमै आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका प्रवक्ता समेत रहेका सहायक वन अधिकृत भरतबहादुर श्रेष्ठले जडिबुटी प्रशोधन कम्पनी स्थापना गर्न बुधबार मात्र समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए।
उनका अनुसार सुदूरपश्चिम सरकारको तर्फबाट वन मन्त्रालयका सचिव दीपककुमार खराल र जटीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको काठमाडौँका तर्फबाट ज्ञानेश्वर कार्कीले समझदारी पत्रका हस्ताक्षर गरेका छन्। दुवै पक्षबिचको समझदारी अनुसार प्रदेश सरकारको अधिकतम शेयर पुँजी र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नीजी कप्पनीको सहभागितामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना गरिने प्रवक्ता श्रेष्ठले बताए।
संघिय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेशका वन मन्त्री माया भट्ट र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराको उपस्थितीमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। जटीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले महेन्द्रनगरमा रहेको आफ्नै जग्गामा कम्पनी स्थापना गर्ने श्रेष्ठले जानकारी दिए।
वन मन्त्रालयका निमित्त सचिव जनक पाध्यायले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीस्थापनाका लागि चालु वर्षमा १० करोड बजेट छुट्याईएको जानकारी दिए। सोही वार्षिक कार्यक्रम अनुसार संघिय सरकार मातहतको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीसंग समझदारी भएको उनको भनाई थियो।
उनले अहिले कम्पनी स्थापना भएमा प्रदेश भित्र उत्पादन हुने जटीबुटीले बजार पाउने विश्वास व्यक्त गरे। प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी अहिले नेपालगञ्ज नाका भएर भारततर्फ निर्यात गरिदै आएकोमा कम्पनी स्थापना भए सुदूरपश्चिमका सीमानाकाबाट पनि निकासी पैठारी गर्ने सकिने पाध्यायले बताए।