बेतन कर्णालीको निर्माण यसै बर्ष सुरु हुने, अछामको ढकारीमा पावरहाउस बनाईने
बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटेको छ। यसअघि ६ सय ८८ मेगावाट उत्पादन हुने भनिएको सो आयोजना विस्तृत अध्ययन र स्थान परिवर्तनका कारण ४ सय ४२ मेगावाट मात्रै उत्पादन हुने जनाइएको छ। प्रारम्भिक सम्भाव्यता अध्ययनमा छनोट गरिएको आयोजनास्थलमा प्रतिकूल सम्भाव्यता अध्ययन, भूकम्पीय जोखिमलगायतका समस्या देखिएकाले आयोजनास्थल परिवर्तन गरिएको हो। अब आयोजना अछामको ढकारी गाउँपालिका–६ मा विद्युत्गृह (पावरहाउस) तथा सुर्खेतको चौकुने गाउँपालिका–६ मा बाँध (ड्याम) स्थल बन्नेछ।
आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माणपूर्वको तयारीमा जुटिरहेको जनाएको छ। यसका लागि पहुँच सडक विस्तार र विद्युत् आपूर्तिको काम सुरु भइसकेको छ। कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारले गुटुबाट कोइरालाबास जोड्ने सडकको टेण्डर आह्वान भइसकेको जानकारी दिए। कोइरालाबासबाट बाँधस्थल पुग्नलाई १३ किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्छ। निर्माणका लागि ३३ केभी विद्युत् कैलालीको लम्कीबाट बेतन ल्याउने तयारी छ।
आयोजना निर्माणमा ७६ अर्ब लगानी हुनेछ। सुर्खेत, अछाम जिल्लाको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा अर्धजलाशययुक्त आयोजना निर्माण गर्न सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले कम्पनी मोडलबाट लगानी जुटाएको छ। कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, छ लाख सञ्चयकर्ताको ४० प्रतिशत, साधारण नागरिकको १५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आठ प्रतिशत र अति विपन्न परिवारको दुई प्रतिशत शेयर रहनेछ।
आयोजनाले निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब छ लाख सञ्चयकर्तालाई लगानी गर्न अवसर प्रदान गर्नेछ। नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको सञ्चयकोषले अब नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्नेछ। सञ्चयकर्ताले नाफाबापत पाउने रकमको ब्याजसमेत जोडेर सो बराबरको शेयर बाँडिनेछ। चालू आर्थिक वर्षबाटै निर्माण सुरु गरेर २०८१ सालमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले २०१८ जुनदेखि २०१९ डिसेम्बरसम्म विस्तृत इञ्जिनीयरिङ र वातावरणीय प्रभाव अध्ययनलगायतका कार्य पूरा गरेको थियो। कम्पनीका प्रबन्ध सञ्चालक रौनियारका अनुसार आयोजनामा डाइभर्सन टनेल दुई वटा र नदीको जगबाट १३२ मिटर अग्लो बाँध (ड्याम) बन्नेछ। त्यस्तै २.५ किमी लम्बाइ र सात मिटर गोलाई भएका तीन वटा टेनल, तीन÷तीन वटा सर्ज काफ्ट र पेनस्टक संरचना बनाइनेछ। आयोजनाबाट वार्षिक आम्दानी रु साढे १४ अर्ब हुने अपेक्षा राखिएको छ। सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आयोजना छिटो सञ्चालन गर्न अनुरोध गरेको बताए।
आयोजना निर्माणका लागि स्थानीय र प्रदेश सरकारको लगानीमा पहुँच सडक विस्तारको काम भइरहेको भन्दै उहाँले चौकुनेवासी तत्काल आयोजना अघि बढ्नुपर्ने पक्षमा रहेको बताए। बेतन कर्णालीमा न्यून मुआब्जा दिनुपर्ने, डुबानको ठूलो समस्या नरहेकाले आयोजना निर्माणमा सहज भएको अध्यक्ष शाहीको भनाइ छ। चौकुने क्षेत्रमा जलविद्युत् आयोजना निर्माण हुने भएपछि स्थानीयवासी उत्साही देखिएका छन्। विद्युत् उत्पादनसँगै सडक निर्माण हुने र गाउँमै रोजगारी पाइने स्थानीयको अपेक्षा छ। रासस