सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माया बिकको बलात्कारपछि हत्या मुद्दामा चार जनालाई जन्मकैद फैसला

२०७६ माघ २३, ०६:२७ खबर संवाददाता

धनगढी : कैलालीमा माया बिकको बलात्कारपछि हत्या मुद्दामा चार जनालाई जन्मकैद फैसला भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाकी बिकको बलात्कार गरी हत्य गरेको आरोप लागेका चार जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएको हो।

उक्त मुद्दामा थप एक जनालाई पाँच वर्षको कैद सजाय हुने फैसला गरिएको छ। जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै दोषी ठहर गरेर जन्मकैदको फैसला गरिएको कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए।

घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पाँच वर्षको कैद सजाय फैसला भएको छ। माया बिकको बलात्कार गरी हत्या घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो।  

गत वर्ष असार १२ गते गौरीगंगा नगरपालिकाको सामाजिक परिचालकमा कार्यरत विक कार्यालय जान भनेर घरबाट हिँडेकी थिइन्। असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा उनको शव भेटिएको थियो। एक साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।
 

कमेन्ट लोड गर्नुस