सुदूरपश्चिममा हुने यस्तो जात्रा, जहाँ हुन्छन् दलित ‘पूजारी’
अहिलेपनि समाजमा जातीय भेदभाद कायमै छ। त्यसमा सुदूरपश्चिम जहाँ रहेको छाउपडी कुप्रथाले देशमै नराम्रो छवि बनाएको छ। तर यसै प्रदेशमा एउटा यस्तो मन्दिर छ जहाँ दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्दछन्।
बैतडीको पाटन नगरपालिका– ३ मा पर्ने जिल्लाकै प्रसिद्ध वनारसी मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा(मेला) लाग्ने गर्छ। धेरेैजसो मन्दिरमा ब्राम्हण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन्।
मंगलबार मात्रै उक्त मन्दिरमा जात्रा सम्पन्न भएको छ। गाउँगाउँबाट बाजागाजासहित जात्रा आएपछि पूजारी झुले लुहारले वनारसी देवताको पूजाआजा गर्दै सबैलाई टीका प्रसाद लगाइ दिएपछि जात्राको समापन भएको छ। वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका मानिसले पूजारीको काम गर्दै आएका छन्। उक्त चलनले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको छ।
‘कतिपय ठाउँमा दलित समुदायका मानिसलाई मन्दिर प्रवेश गर्न दिँइदैन। तर, यो मन्दिरका दलित नै पूजारी छन्।’ स्थानीय हरिदत्त पन्तले भने। दलित अधिकारकर्मी रमेश कोली भन्छन ‘धार्मिक हिसाबमा जातीय छुवाछुत हुँदैन। यो पछि चलाएको चलन हो भन्ने कुरा वनारसी जात्राले पुष्टी गर्दछ।’ वनारसी जात्रा सामुदायिक सद्भाव कायम गर्ने र जातीय भेदभाव न्यूनीकरणका लागि राम्रो उदाहरण भएको उनले बताए।
वनारसी मन्दिरमा १२औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन्। सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ। देवता र राक्षस बीच लडाईँ हुँदा खोपरे दैत्य नामक राक्षसलाई वनारसी देवताले मारेको भनाइ छ।