नक्कली धानको बीउँले ठगिएका किसानद्वारा धनगढीमा प्रदर्शन, मन्त्रालय घेराउ
धनगढी : नक्कली धानको बीउँले ठगिएका कैलालीका किसानहरुले अझै क्षतीपूर्ति नपाएको भन्दै धनगढीमा प्रदर्शन गरेका छन्। गरिमा धानको बीउँका कारण कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ६ करोडको क्षती भएपनि अहिले सम्म किसानहरुले राहत र क्षतीपुर्ती नपाएको भन्दै किसानहरुले धनगढीमा प्रदर्शन गरेका हुन्।
उनीहरुले अहिले प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रदर्शन गरिरहेका छन्। आजै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदर्शन गर्ने र ज्ञापनपत्र बुझाउने समेत कार्यक्रम रहेको संघर्ष समितिका संयोजक बासु गुरागाईले बताए। कैलाली र कञ्चनपुरमा एक हजार सात सय ३० जना किसानले लगाएको गरिमा धानको बीउँले उत्पादन नदिएपछि झण्डै ६ करोडको क्षति भएको थियो।
संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको टोली अनुगमनमा आएका बेला नक्कली गरिमा धानको बीउँका कारण कैलाली–कञ्चनपुरमा भएको क्षतीको विवरण बुझाइएको थियो। तर संघीय मन्त्रालयबाट क्षतीपुर्तीका लागि कुनै औपचारीक पत्र भने नआएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख मदन थापा संयोजक रहेको अनुगमन टोलीले मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। तर किसानलाई राहत र क्षतीपुर्ती दिने बिषयमा कुनै निर्णय भएको छैन्। गरिमा धानको बिउ २०७२ सलामा नेपाल सरकारले नै प्रमाणीत गरेको थियो।