एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी
माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्। गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्बर ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ।
लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले बताए। दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ। विगतमा एक÷दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन।
“गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ। विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन्। अन्य वडामा समेत उत्पादन बढिरहेको छ”, शाखा प्रमुख पौडेलले भने। उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पु¥याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन्। सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो। जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ।
शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनकाे सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए। गुरुङको फार्ममा अहिले ३०० भैँसी छन्। विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको थियो।
वडा नम्बर ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५ सय लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ। यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउँदै आएका छन्। गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ। नौ वडा रहेको गाउँपालिकाको वडा नम्बर ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ।
त्यसैगरी रिभान, माछापुच्छ«े र सार्दीखोलबाट दैनिक तीन सय लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ। त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५ सय लिटर दूध बिक्री हुने गरेको बताइन्छ। समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्याङ्क छ।
गाईको दूध प्रतिलिटर रु ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु ७० मूल्य पर्ने गरेको छ। दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्से्नि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताए। “दाना, घाँस तथा परालको बर्से्नि मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन। यसबाट हामी पीडित छौँ”, उनले भने।
‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«े मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन्। चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले बताए। गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ। रासस