सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

२०७६ माघ २२, १०:१८ खबर संवाददाता

बाजुरा: बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको  स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए। 

कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अन्य पाँच जना पनि बिरामी भएको स्वास्थ्यकर्मी विकले जानकारी दिए।   गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन्। 

सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताए। 

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए।  स्वास्थ्यकर्मीहरुले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन्।

कमेन्ट लोड गर्नुस