कैलालीमा युवती मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा
कैलालीको अत्तरियामा २३ वर्षीय उर्मिला विष्ट कार्की मृत्यु प्रकरणमा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता भएको छ। माघ १६ गतेदेखि वेपत्ता भई शनिबार मृत भेटिएकी २३ वर्षीय कार्कीका श्रीमान रमेश कार्की, नन्दहरु मन्धरी कार्की, लक्ष्मी कार्की बोहोरा र आरसु कार्कीविरुद्ध दुरुत्साहनमा मुद्धा दर्ता भएको हो।
मृतकका माईती पक्षले चारै जना विरुद्ध दुरुत्साहनमा मुद्धा दर्ता गरेका हुन्। चार जनालाई नै नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। प्रहरी नायव उपरिक्षक बस्नेतले शव परिक्षण रिर्पोटमा कुनै कारण नखुलेकाले भिसेरा परिक्षणका लागि पठाईएको बताए। माईती पक्षले आज पनि शव बुझ्न मानेका छैनन्।
मुलुकी अपराध संहिता लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी पर्न थालेका हुन्। मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ।
१६ गते घास काट्न गएकी विष्ट १७ गते सम्म पनि फिर्ता नभएपछि परिवारका सदस्यले खोजतलासका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए।