मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधी एक वर्ष थपिदै
निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडकको अवधी बढाईने भएको छ। २०७४ को जेठमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सडकको सम्झौता अवधी एक वर्ष थप्ने तयारी भएको हो। मोहनापुल अत्तरिया छ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले निर्माण व्यवसायीको माग अनुसार आउँदो वर्षको माघ सम्मलाई अवधी थप्ने प्रस्ताव गरी पठाईएको जानकारी दिए।
संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत हुँदै उक्त प्रस्ताव अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको सडक योजना कार्यालयका प्रमुख एसीले दिनेश खबरलाई जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीले छ लेन सडकको पहिलो खण्डका लागि २०७७ मंसिर ६ गते, दोस्रो र तेस्रो खण्डका लागि माघ १५ गते सम्मको समय माग गरेका छन्।
यसअघि छ लेन सडक योजना कार्यालयले डेढ वर्षको समय माग गरेको थियो। तर संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले अवधी बढाउनुपर्ने स्पष्ट कारण माग्दै फाईल फिर्ता पठाएको थियो। गत असार १६ मा म्याद थपका लागि लेखी पठाएको फाईल साउनमा फिर्ता आएको थियो।
त्यसपछि सडक योजना कार्यालयले दोस्रो पटक एक वर्षको अवधी माग गर्दै प्रस्ताव पठाएको थियो। उक्त प्रस्ताव केही दिनमै स्वीकृत हुने विश्वास पनि गरिएको छ। यसअघि निर्माण व्यवसायीलाई दिईएको अवधी गत जेठमै सकिएको थियो। अहिले छ लेन सडकमा ५५ प्रतिशत मात्रै भौतिक प्रगती भएको योजना कार्यालयले जनाएको छ।
छ लेन सडक योजना कार्यालयका प्रमुख एसीले अहिले सम्म ५५ प्रतिशत मात्र प्रगती भएको जानकारी दिए। उनका अनुसार सडकको एउटा साईडमा छ किलोमिटर मात्रै कालोपत्रेको काम भएको छ भने पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन्।
संघिय सडक सुपरीवेक्षण कार्यालयले पुलको डिजाईन प्रतिवेदन बनाई योजना कार्यालयमा पठाएपछि स्टमेट बनिसकेकोले छिट्टै निर्माण थालिने दावी गरिएको छ। सुदूरपश्चिम प्रदेशकै समृद्धिसंग जोडिएको छ लेन सडक निर्माणमा सुरुदेखि नै ढिलाई हुँदै आएको छ।