सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुलाकी सडक चार लेनमा बिस्तार गरिदै

२०७६ माघ २१, ०७:१८ कमल सावद

कैलालीमा निर्माणाधिन हुलाकी सडकको स्तरबृद्धी गरिने भएको छ। धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईदेखि चार लेन सम्म स्तरबृद्धी गरिने भएको हो। हुलाकी सडक योजना कार्यालयले स्तरबृद्धिका लागि ठेक्का सम्झौताको प्रक्रिया अगाडी बढाएको जनाएको छ। कार्यालयका अनुसार धनगढीमा तीन किलोमिटर सडकलाई चार लेनमा स्तरबृद्धि गरिनेछ।  

धनगढी उप–महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेन सहित अन्य खण्डलाई दुई लेनमा विस्तार गर्न प्रक्रिया अगाडी बढाईएको छ। बसन्ता सम्मको २८ किलोमिटर र बसन्ता देखि शत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–शत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरबृद्धि गर्ने तयारी भएको हो। 

३० किलोमिटर लम्बाई रहेको लम्की–टीकापुर सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने शहरी विकासले निर्माणका लागि ठेक्का गरेको छ। अन्य क्षेत्रको सडकको स्तरबृद्धिका लागि हुलाकी सडक राजमार्ग निर्देशनालयले गत माघ २ गते ठेक्का सम्झौताका लागि सूचना प्रकाशन गरेको थियो।

अहिले प्राविधिक मुल्याङकनको चरणमा रहेको ईन्जिनियर कृष्ण महतोले जानकारी दिए। उनका अनुसार भारतले  निर्माण गरी हस्तान्तरण गरेको हुलाकी सडककोे चौडाई तीन दशमलव ७५ मिटर मात्रै रहेकोछ। तर अब भने धनगढीको तीन किलोमिटर १४ मिटर र बाँकी दुई लेनमा विस्तार गरी सात मिटर चौडा बनाईनेछ। सोही अनुसार अहिले स्थानीयले सडक क्षेत्र भित्र निर्माण भएका भौतिक संरचना भत्काउन थालेका छन्। 

सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले सो आसपासमा बनेका संचरना भत्काईन लागेको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए। उनले भने, ‘कालोपत्रे गरिएको हुलाकी सडक बिस्तार गर्ने योजना छ। चालु आर्थिक वर्षबाट नै प्रकृया अघि बढेको छ। तर आर्थिक मुल्याङकनको काम भने बाँकी रहेको छ।’ 

सात खण्डमा सडक स्तरबृद्धि गर्ने योजना रहेको उनले बताए। उनका अनुसार आर्थिक मुल्याङकन नभएकाले ७२ किलोमिटर सडक बिस्तारको लागत भने खुलेको छैन्।  तर तीन अर्ब बढि लाग्ने अनुमान गरिएको छ। 

हुलाकी सडक क्षेत्रको ३० मिटर चौडाई क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउँदै मुआब्जा बितरणलाई पनि तिव्रता दिइएको दावी कार्यालयको छ। धनगढीमा ९६ घर सडक क्षेत्रमा पर्नेमा ८ र लालबोजी क्षेत्रमा ७६ घर सडक क्षेत्रमा पर्नेमा ५२ लाई मुआब्जा बितरण गरिएको छ। ३० वटा धारा र दुई गोवर ग्याँसको पनि मुआब्जा दिन बाँकी छ। दुई करोड ९२ लाख ६४ हजार मुआब्जा वितरण गर्न बाँकी छ। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस