सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा शक्तिको आडमा अनुमती बिना रुख कटानी, अख्तियारमा मुद्धाको चाङ

२०७६ माघ २०, ०४:२२ कमल सावद

धनगढी : कैलालीमा शक्तिको आडमा अनुमती विना नै रुख कटानी हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धाको चाङ लागेको छ। जिल्लाको चुरे क्षेत्रमा सबैभन्दा बढि सडक निर्माणको नाममा अनुमती बिना नै रुख कटानी भएको छ।

चुरे गाउँपालिका क्षेत्रका सात बढि सामुदायिक वनमा कानुन बिपरित रुख कटानी भएको मुद्दा अख्तियारमा परेपछि अख्तियार कञ्चनपुरले गत आर्थिक बर्षदेखि नै छानबिन थालिएको थियो। तर ति सामुदायिक वनमाथिको अध्ययन अझै सकिएको छैन्। कैलालीका सामुदायिक वनहरुलाई पत्राचार गर्ने क्रम जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ।

अख्तियार कञ्चनपुरका प्रमुख बाबुराम खतिवडाले कैलालीका वनहरुमा कर्मचारी पठाउन नसकिएको स्विकार गरे। उनले भने, ‘वन सम्बन्धीका मुद्दाहरु आउने क्रम जारी छ। तर अनुसन्धानका लागि कर्मचारीको अभाव छ। मुद्दाको अध्ययनका लागि समय लाग्दैछ।’ चालु आर्थिक वर्षमा मात्रै कैलालीको वन सम्बन्धीका ३० मुद्दा अख्तियारमा थपिएका छन्।

जिम्मेवारी सरेर आएका गरी चालु आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म वन सम्बन्धीका मुद्धाको सङख्या दुई सय २४ पुगेको छ। ७७ मुद्दा फच्र्योट भएका छन्। २३ मुद्दा तामेलीमा र १६ मुद्दा विस्तृत अध्ययनका लागि पठार्ईएको छ। चुरे गाउँपालिका क्षेत्रमा रहेका ७ वटा सामुदायिक वनमाथि अख्तियार कञ्चनपुरले छानविन थालेकोमा अहिले मोहन्याल गाउँपालिका क्षेत्रका सामुदायिक वनहरु पनि अख्तियारको छानबिनको दायरामा छन्। मोहन्याल गाउँपालिका क्षेत्रमा सामुदायिक वनहरुमा पनि गैरकानूनी रुपमा रुख कटानी भएको भन्दै मुद्दा दर्ता हुने क्रम बढेको हो।

चुरे क्षेत्रमा वनमाथि भईरहेको दोहोन नियन्त्रणमा वन कार्यालय पनि उदासिन छन्। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले चुरे क्षेत्रमा वन बिनास हुदै आएको बारेमा कुनै सूचना नआएको बताए। चुरे गाउँपालिका क्षेत्रका दुई वटा सामुदायिक वन विरुद्ध मात्रै मुद्धा आएको उनले बताए। स्थानीय तथा प्रदेश सरकारको बजेट मार्फत सडकको योजना कार्यान्वयन गर्दा वातावरणीय प्रभाव मुल्याङकन र रुख कटानीको आदेश विना धमाधम रुख काटिएका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस