दार्चुलाको नौगाड गाउँपालिकाका पाँच वडामा सडक पहुँच पुग्दै
दार्चुला: दार्चुलाको नौगाड गाउँपालिकाका पाँच वटा वडाहरुमा सडक पहुँच छिट्टै पुग्ने भएको छ। स्थानीय सरकार गठन भएको अढाई वर्षमै सडक पहुँच विस्तार गरिएको हो।
सडक सञ्जालमा नजोडिएका नौगाड गाउँपालिकाका वडा नम्बर २, ४, र ५ मा स्थानीय तह गठन भएपछि सडक सञ्जालमा जोडिदै छ। गाउँपालिकाको सबै भन्दा सुन्दर वस्ती रहेको सिप्टीमा गत वर्ष सडक पहुँचमा जोडिएको छ।
सिप्टीसम्मको बहुवर्षीय ठेक्कामार्पmतगत वर्ष वडा कार्यालयसम्म सडक पुर्याइएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिए। उक्त सडक अहिले सिप्टी वडा कार्यालय हुँदै होपरी वस्तीमा लगिएको छ। कुल १ करोड १५ लाख रुपैयाँ लागतमा यो सडक निर्माण भइरहेको छ।
यस्तै चालू आर्थिक वर्षमा सुकाखोला पन्ढुंगा सडकको लागि कुल ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय सरकारको विशेष समपूरक बजेटमार्फत सडक निर्माणको लागि प्रस्ताव आह्वानको तयारी भइरहेको छ। यस्तै दल्लेख हुँदै सुण्डमुण्डु सडक पनि निर्माणाधीन छ।
‘गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर १ मा मात्रै चालू आर्थिकवर्ष भित्र सडक पुर्याउन सकिने अवस्था छैन्’ अध्यक्ष धामीले भने ‘यो वडासम्म पनि आफ्नै पाँच वर्षे कार्यकालभित्र सडक पुर्याउने लक्ष्य छ।’ गाउँपालिकाको वडा नम्बर १ भने साविकको इयरकोट गाविस हो। भौगोलिक रुपमा विकट वस्ती भएको कारण सडक पुर्याउनमा ढिलाई भएको छ।