सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङः आफ्नो मान्छे नराखेको भन्दै बर्थिङ सेन्टरमा ताला, जोखीममा सुत्केरीको ज्यान

२०७६ माघ १९, ०२:१७ डीवि विष्ट

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिका– ६ को बयाना र बडाकोट गाउँका लागी निर्माण गरिएको बर्थिङ सेन्टर बिगत तिन महिनादेखि बन्द छ।  जग्गादान गरेका झुरु थापाले आफ्नो मान्छेलाई बर्थिङ सेन्टरमा कर्मचारी(कार्यालय सहयोगी) नराखेको भन्दै बर्थिङ सेन्टरमा ताला लगाएका हुन्। 

जग्गादान गर्दा कार्यालय सहयोगीसम्म भएपनि आफ्नो एक जना कर्मचारी राख्ने सहमतीका आधारमा आफुले जग्गा दान गरेको झुरु थापाले बताए।  बर्थिङ सेन्टर निर्माण भएर संचालनमा आउँदा आफु र आफ्ना कोही पनि मान्छेलाई कर्मचारी नराखेको र कर्मचारी राख्दा जानकारी सम्म नगरेका कारण आफुले बाध्य भएर बर्थिङ सेन्टरमा ताला लगाएको उनले बताए। 

यता गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले भने कार्यालय सहयोगी तथा सुईपर राख्दा ७ दिने सार्वजजिक सूचना गरेको र निष्पक्ष तरीकाले कर्मचारी राखेको  बताएका छन्। ‘उनको परिवारका सदस्यले निवेदन नै दिएनन् र घरमै गएर कर्मचारी बनाउन सकिएन’ उनले भने। आफुहरुले कर्मचारी राख्ने सहमती नगरेको र त्यो सहमतीबारे आफुलाई जानकारी नभएको उनले बताए। 

तत्कालिन पाटादेबल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष तिलककुमार खड्काले बताए। आफुले पटकपटक ताला खोल्न आग्रह गर्दा समेत नमानेका कारण जिल्ला प्रशासनमा जानकारी गराएको उनले बताए।   

बर्थिङ सेन्टर निर्माण भएपछि २ दिन मात्रै संचालनमा आएको थियो। उद्घाटन र औषधि खरिदगरी संचालनमा आएको उक्त बर्थिङ सेन्टर तेस्रो दिनदेखि थापाले ताला लगाएका कारण बन्द रहेको महिला सदस्य कृष्णादेवि थापाले बताइन। 

बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरु मारमा परेका छन्। बर्थिङ सेन्टर निर्माण भइसकेपछि ३/४ जना गर्भवती महिलाहरुले बिचबाटोमै बच्चा जन्माएको थापाले बताइन। 

पुस २६ गते सुत्केरी व्यथा लागेकी कल्पना थापाले बर्थिङ सेन्टर बन्द भएका कारण गाँउबाट झण्टै २/३ घण्टाको पैदल यात्रा हिडेर पाटादेबल स्वास्थ्य चौकी पुगेको बताइन। तर उक्त दिन शनिबार परेकाले नर्स घरमा गएको र आफुले स्वास्थ्य चौकीको चर्पिमा बच्चा जन्माएको उनले बताइन। ‘गाउँमा नै बर्थिङ सेन्टर छ तर बन्द भएका कारण आफुले यती दःख खेप्न परेको छ’ उनले भनीन। 

यस्तै बयानाकी सत्यकलादेवि थापाले स्वास्थ्य चौकी टाढा भएका कारण आफुले बिचबाटोमै बच्चा पाएको दुःख सुनाइन। ‘नजीकै बनेको बर्थिङ सेन्टरमा ताला लगाएको छ, विवादका कारण कहिलेपनि खुल्दैन जसका कारण आफुले एकमहिना अघि मात्रै बाटोमा बच्चा जन्माए’ उनले भनीन। सुत्केरी व्यथा लागेपछि गाउँबाट पाटादेबल स्वास्थ्य चौकी जाने क्रममा बिचबाटोमै सुत्केरी भएर घर फर्किनु परेको उनले बताइन। ‘अनुभवी सुडेनी भएका कारण ज्यान बच्यो’ थापाले भनिन् ‘नभए त ज्यान नै जाने थियो त्यो दिन।’

२०७५ साल पुसमा बडाकोटकी ३६ वर्षीया उजलीदेवि थापाको मृत्यु भएको थियो। सुत्केरी व्यथा लागेकी उजलीलाई स्वास्थ्य चौकी पाटादेबल लैजाने क्रममा उनको बिचबाटोमै ज्यान गएको उनका श्रीमान प्रेम थापाले बताए। 

गाउँमा बर्थिङ सेन्टर बनेपछि निकै खुसी बनेका यहाँका स्थानीयहरुमा अहिले निराशा छाएको छ। बनेको बर्थिङ सेन्टरमा तालाबन्दी बारे सरोकारवाला बेखर बनेपछि यहाँका स्थानीयले २÷३ घण्टा पैदल यात्रा गरेर पाटादेबल स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता छ।

दुवै गाउँको पायक पर्ने ठाउँ कोटीखेतमा बर्थिङ सेन्टर छ। दवैै गाउँबाट उक्त बर्थिङ सेन्टर पुग्न १० मिनेट मात्रै लाग्ने गरेको भए पनि बर्थिङ सेन्टर बन्द भएपछि अहिले यहाँका स्थानीयले २÷३ घण्टा हिँडेर पाटादेबल पुग्नुपर्ने बाध्यता छ। 

बयानामा झण्डै १४० र बडाकोटमा ७५ परिवारको बसोबास छ। बर्थिङ सेन्टरका लागी राखेको औषधि काम नलाग्ने अवस्थामा पुगेको छ भने बर्थिङ सेन्टरका झ्यालहरु फुटालिएका छन्। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस