धनगढीमा वन कार्यालयले विकासमा अवरोध गर्यो : नगरप्रमुख वड
धनगढी: धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले डिभिजन वन कार्यालय कैलालीले नगरमा हुने विकास निर्माणका काममा अवरोध गरेको आरोप लगाएका छन्। उप–महानगरपालिका– १२ मा रहेको सिद्धनाथ सामुदायिक वनको १६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन।
‘बिच सडकमा रहेको सुकेको रुख भने हटाउन दिइरहेको छैन तर डिभिजन वन कार्यालयले उपभोक्ताहरुले दुःख गरेर संरक्षण गरेको जंगललाई यो या त्यो कार्यक्रमका नाममा फडानी गर्दै छ’ उनले भने। सडकको बिचमा पर्ने रुख हटाउन नसक्दा दैनिकजसो दुर्घटना भइरहेका छन् तर वैज्ञानिक वनका नाममा घना जंगल सखाप बनाईदै छन्’ उनले थपे। आफुले पटकपटक समन्वय गर्न खोज्दा डिभिजन वन कार्यालय कैलालीका प्रमुखसँग त्यसबाट पन्छिएको उनले आरोप लगाए।
डिभिजन वन कार्यालयको रबैयाका विरुद्ध आफु कडा रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको नगरप्रमुख वडले बताए। कसैको निर्देशनमा नगरको विकासमा अवरोध गरेमा त्यसको प्रतिकार नगरवासीले नै गर्ने नगरप्रमुख वडले बताए।
नगरप्रमुख वडले सिद्धनाथ सामुदायिक वनका उपभोक्ताहरुले वनक्षेत्रबाट अवैध रुपमा माटो तस्करी गर्ने व्यक्तिबाट जरिवाना स्वरुप लिएको १ लाख ६० हजार रुपिँया अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले खाएको आरोप लगाएका छन्।
केहिदिन पहिले वनक्षेत्रबाट अवैध रुपमा माटो तस्करी गर्ने व्यक्तिबाट जरिवाना स्वरुप लिएको १ लाख ६० हजार रुपिँयासहित त्यस सामुदायिक वनका पदाधीकारीलाई अख्तीयारको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरु रिहा भएका छन्। तर रकम भने फिर्ता नगरेको उपभोक्ताहरुको आरोप छ।