सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका यार्सागुम्बा संकलकका परिवारले वीमा वाफतको रकम पाएनन्

फाइल फोटो
फाइल फोटो
२०७६ माघ १८, ०६:४० नरेन्द्र कार्की

दार्चुला: दार्चुलामा यार्सागुम्बा संकलनका क्रममा घाइते तथा मृत्युवरण गरेका परिवारले वीमा वाफतको रकम भुक्तानी पाएका छैनन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक यार्सागुम्बा संकलकहरुको वीमा गराएको थियो। तर वीमा गराएको रकम अहिलेसम्म नपाउँदा पीडितहरु भने समस्यामा परेका छन्।

यार्सागुम्बा संकलनको क्रममा मृत्यु हुनेहरुको १० लाख तथा घाइतेहरुको १ लाख रुपैँयाका दरले २० जनाको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत वीमा गरिएको हो। जसमा यो वर्ष यार्सागुम्बा संकलनको क्रममा २ जना मृतकका आफन्त तथा २ जना घाइतले वीमा रकम दाबी गरेका थिए। तर आठ महिनासम्म पीडितहरुले वीमा रकम पाएका छैनन्। 

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले धनगढी स्थित प्रुडेन्सियल इन्सोरेन्स कम्पनी लिमिटेडसँग यार्सागुम्बा संकलकहरुको वीमा गराएको थियो। प्रतिव्यक्ति १० लाख रुपँैयाका दरले २० जनाको २ करोड रुपियाँको वीमा सम्झौता भएको थियो। तर संकलनको क्रममा मृत्यु भएका पीडितहरुले अहिलेसम्म वीमाको रकम नपाएको दुहुँका स्थानीय वीरसिँह बडालले बताए। ‘मृत्यु भएको आठ महिना भइसक्यो, घाईतेहरुको उपचार खर्च व्यवर्होर्न धौं धौ परेको छ’ बडालले भने ‘अहिलेसम्म रकम भुक्तानी नहुँदा पीडितहरुलाई झन पीडा दिने काम भएको छ।’

संरक्षण क्षेत्र कार्यालयले जेठ १५ गतदेखि असार १५ गतेसम्मको लागि छोटो टाईमको दुर्घटना वीमा गराएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। संकलकहरुको वीमा रकमबाफत अपिनाम्पा संरक्षण क्षेत्रले ८४ हजार ७७२ रुपियाँ किस्ता खर्च गरेको छ। 

छोटो अवधिको वीमा गर्ने सम्झौता भएको हो। पहिलोपटक यार्सागुम्बा संकलकहरुको वीमा गर्ने अभियान थालिएको अपिनाम्पा संरक्षण क्षेत्र कर्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बताए। 
'वीमाको लागि आवश्यक कागजात पेश गरेका चारै जनाको कागजात विमा कार्यालयलाई पेश गरिसक्दा पनि वीमा रकम दिन ढिलाई गरिरहेको छ' मेहताले भने ‘वीमा कम्पनीले मागेअनुसारको कागजात गत असोज ९ गतेनै दोस्रो पटक पठाईसकेका छौ।’ ‘तर अहिले पनि कागजात नपुगेको भन्दै वीमा रकम भुक्तानी गरेको छैन्। रकम नपाएको भन्दै पीडितहरु कार्यालयमा धाउने गरेका छन' उनले भने।

वीमा कम्पनीबाटै रकम भुक्तानी नहुँदा पीडितहरुले वीमा रकम पाउन नसकेको कार्यालय प्रमुख महेताले बताए। अहिले पनि माग गरेका कागजात पुन पठाएका छौ। रकम भुक्तानी नगरेको विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउँदैछौ। 
उता प्रुडेन्सियल इन्सोरेन्स कम्पनीका म्यानेजर बोधराज ओझा भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयबाटै आवश्यक कागजात पठाउन ढिलाई भएको बताए।

‘हामीले कागजातको लागि पत्रचार गरेका छौ, तर सबै कागजात आइपुगेको छैन्। संरक्षण क्षेत्र कार्यालयले चाहिने कागजात पुर्याएपछि वीमा कम्पनी बोर्डले निर्णय गर्छ’ ओझाले भने। आवश्यक कागजात पुगेपछि वीमा रकम भुक्तानी पीडितले पाउने उनले बताए। 

संरक्षण क्षेत्र कार्यालयले १० जना संकलक, ४ जना सुरक्षाकर्मी, ३ जना अपि नाम्पा संरक्षण क्षेत्रका कर्मचारी, २ जना व्यस्थापन परिषदका सदस्य र १ जना पत्रकारको दुर्घटना वीमा गराएको थियो।

यार्सागुम्बा संकलनको क्रममा मृत्यु भएका शेरसिह बोहरा र शेरसिह ठगुन्ना तथा संकलनको क्रममा घाईते भएका गौमती बडाल र त्रिभुनसिँह कुवरले वीमा रकम दाबी गरेका छन्। उनीहरुले आवश्यक कागजात सहित कार्यालयलाई वीमा रकम दावी गरेका हुन्। 

दार्चुलाको अपि हिमाल गाउँपालिका, र व्यास गाउँपालिकामा यार्सागुम्बा बढि पाइने गरेको छ। हरेक वर्ष जिल्लामा यार्सागुम्बा संकलनको लागि झण्डै १० हजार जना पाटन पुग्ने गरेका छन् । भने चार पाँच जनाले अकालमै ज्यान गुमाउने गरेका छन्। 
यार्सागूम्बा संकलनको लागि विद्यार्थीहरु समेत जाने गरेका छन्।

यार्सागुम्बा संकलनलाई व्यवस्थापन गर्न यार्सागुम्बा व्यवस्थापन संकलन तथा ओसारपसार निर्देशिका २०७३ जारी गरेपनि कार्यान्वयन भने भएको छैन्। यार्सागुम्बा संकलनको लागि नागरिकता अनिवार्य भनिएको छ। नागरिकता र अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको परिचयपत्र अनिवार्य बनाएको हुनुपर्ने प्रावधान राखेको थियो। तर दुवै प्रावधान कार्यान्वयन हुन नसक्दा संकलनको क्रममा मृत्यु भएका तथा घाईते भएका अन्य व्यक्तिहरुले वीमा रकम दाबी गर्न नसकेको कार्यालयले जनाएको छ। 

 

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस