सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक अगुवा भन्छन् –सेती अस्पताल राजनीतिले धरासायी बन्दैछ

२०७६ माघ १७, ०१:०० जनक विष्ट

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको नेतृत्व सम्हालेको छ महिनाको अवधीमा अध्यक्ष दुर्गाप्रसाद जोशीले दुई पटक पत्रकार सम्मेलन आयोजना गरिसकेका छन्। जोशीले अस्पताल सुधारको काम गरिरहेका मेसु डाक्टर हेमराज पाण्डे लगायतका चिकित्सकलाई काम गर्न नदिने वातावरण सिर्जना गरिरहेको भन्दै सार्वजनिक भएका समाचारको खण्डन गर्नकै लागि दुई पटक पत्रकार सम्मेलनको आयोजना गर्नुपरेको थियो।

आफूलाई लागेको आरोपको खण्डन गर्न हतारो गरेर पत्रकार सम्मेलन राख्ने अध्यक्ष जोशीले समन्वयकारी भूमिका खेल्न नसक्दा समस्या बढ्दै गएको छ। जोशीले मेसु पाण्डेले आफूसंग समन्वय नगर्ने गरेको आरोप सार्वजनिक रुपमै लगाउँदै आएका छन् तर उनी आफैले पनिर समन्वयकारी भूमिका खेल्न नसकेको आरोप लागेको छ।

यस क्षेत्रका सरोकारवाला भने  राजनीतिक हस्तक्षेप बढेकै कारण सुधारको लयमा अगाडी बढेको  अस्पताल विवादको भुमरीमा फसेको बताउँदै आएका छन्। नागरिक समाजका अगुवा प्रमोद पाठकले ४० वर्षको अवधीमा सेती अस्पताललाई अहिले जतिको व्यवस्थित, सफा सुग्घर नदेखेको बताए।

‘जहाँ मान्छे जीवन मरणको दोसाधमा उपचारका लागि पुग्छन् त्यहाँ पनि किन विवाद गर्नुप¥र्यो, अस्पताल सेवा गर्ने ठाउँ हो।’ पाठकले भने। ‘अहिले डाक्टर हेमराज पाण्डेले राम्रै काम गरिरहनुभएको छ, काम गर्ने मान्छेलाई कुनै पनि ठाउँमा गर्नुदिनुपर्छ।’

पछिल्लो समय सेती अस्पतालमा पनि राजनीतिक हस्तक्षेप बढेको उनको बुझाई छ। पाठक अस्पताल जस्तो सेवा गर्ने ठाउँमा दलगत राजनीति गर्नू सबैभन्दा निच काम भएको बताउँछन्। ‘अस्पतालमा, स्कुलमा पनि दलगत राजनीतिक यो निच काम हो, धेरै निम्न स्तरीय काम हो। यसो गर्नू हुदैन्।’ उनले भने।

अस्पतालमा हुने राजनीतिक हस्तक्षेप र विवादले सुदूरपश्चिमका २८ लाख नागरिकको जनस्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव पार्ने भएकाले विवाद समाधान गर्नूपर्ने आवश्यकता रहेको पाठकले बताए। तर व्यवस्थापन समिति र प्रशासनका बिचमा विवाद भए जस्तो देखिएपनि त्यसको प्रभाव आम प्रदेशबासीको जनस्वास्थ्यमा परिरहेको कुराको हेक्का भने राखिएको छैन्।

व्यवस्थापन समिति विहिन रहेका बेला अस्पताल प्रशासनले कार्ययोजनाका साथ सुधारात्मक काम गरिरहेकोमा अहिले भने विवादकै कारण ती सबै काम प्रभावित भएका छन्। अस्पतालको राजनीतिक नेतृत्वले प्रशासनलाई आफू अनुकुल चलाउन खोज्दा समस्या उत्पन्न भएको बताईदै आएको छ।

तर अस्पतालको सेवा सुधारका लागि दुवै पक्षले आपसी समन्वयका साथ अगाडी बढ्नुपर्ने सुझाव पूर्व मेसु समेत रहेका डाक्टर गणेश बहादुर सिहको छ। ‘अस्पताल भनेको सेवा दिने संस्था हो, त्यहाँ सेवा दिनलाई सामूहिक कामको जरुरत पर्छ।’ उनले भने। ‘त्यो सामूहिक काममा व्यवस्थापन समिति र प्रशासनका बिच आपसी समझदारी हुनु अतिआवश्यक हुन्छ।’

दुवै पक्षले आपसी समन्वयका माध्यमबाट आ–आफ्नो अधिकार क्षेत्र भित्रका काम गर्न सके मात्र अस्पतालको सेवा सुधार हुने डाक्टर सिंहले बताए। उनले व्यवस्थापन समितिले अस्पतालको बाह्य वातावरण मिलाउने, बजेट जुटाउने, समन्वयात्मक भूमिका खेल्ने, अस्पतालका लागि आवश्यक पर्ने समाग्रीको व्यवस्थापन गर्नूपर्ने बताए। दुवै पक्षबिच समन्वयकारी भूमिका नभए उपचारका लागि पुग्ने सर्वसाधारणले दुःख पाउने उनले बताए।

सेती अस्पतालमा वषौँदेखि औषधी खरिद एवंम निर्माण सम्बन्धीका कामहरुमा कमिसनको चलखेलमै मिलेमतोमा ठेक्का सम्झौता समेत गरिदै आएको थियो। विगतमा स्थानीय टेण्डर गरी एउटै कम्पनी वा फार्मलाई मिलेमतोमै ठेक्का गरिदै आएको थियो तर अहिले भने अस्पतालले ई–बिडिङ प्रणाली मार्फत सबै खरिदका काम गर्दै आएको छ।

फलस्वरुप विगतमा एकलौटी गर्दै आएको गिरोहले फाईदा उठाउन पाएको छैन्। अस्पतालमा हुने खरिद प्रक्रियामा मिलेमतो गर्ने, एउटै फार्मबाट वषौँदेखि औषधी खरिद गर्ने, उपचारका लागि अस्पतालकै चिकित्सक तथा कर्मचारीले निजी क्लीनीक पठाउने जस्ता विकृतीका कारण प्रदेशबासी ठगिएकाले आवश्यक छानविन गरी संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव पत्रकार दिलबहादुर छत्यालको छ।

‘सेती प्रादेशिक अस्पताल भित्र हिजोका दिनदेखि एउटै औषधी फार्मबाट वषौँदेखि टेण्डर गरी खरिद गर्ने, असहाय, गरिब, विपन्नका लागि आएको औषधी बिक्रि गर्ने, उपकरण बिगारिने, कर्मचारीहरुले विरामीलाई व्यवसायीक क्लीनीकमा पठाउने यस्ता धेरै समस्या छन्।’उनले भने।

‘यसबाट यसक्षेत्रका बासिन्दा ठगिएका छन्, आफ्नो व्यक्तिगत स्वार्थ पूर्ती गर्न अस्पताललाई माफियाकरण गर्न, अस्पताललाई खाने भाडा बनाउन खोजेका सबैलाई छानविन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ।’

तर अस्पताल व्यवस्थापन समितिले भने सेवा सुधार र विस्तार भन्दा पनि जुंगाको लडाईमा लागि परेको आरोप लागेको छ। अस्पतालको स्तरोन्नती गर्दै विशेषज्ञ सेवा विस्तार लगायतका दर्जनौँ सुधारमुलक कामको आवश्यकता भएपनि व्यवस्थापन समितिले भने अस्पताल प्रशासनसंग जोरी खेल्दै आएको छ। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस