सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पर्यटन प्रवद्र्धन गर्न सडक स्तरोन्नति

२०७६ माघ १७, १२:२१ खबर संवाददाता

आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ। नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो। पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।

झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झर्ना, विष्णु मन्दिर र रौटेला धार्मिक पर्यटकीय क्षेत्र जोड्ने सडक स्तरोन्नतिको कार्य गरिएको उनले बताए। पर्यटकलाई लक्षित गरी ताराकोटदेखि पर्यटकीय क्षेत्र झिलमिला जाने एक किलोमिटर पदमार्ग निर्माण गरिएको छ। सांसद बिकास कोषको  १० लाखको लागतमा दुई मिटर चौडाइको पदमार्ग निर्माण गरिएको हो। वडा कार्यालयको बजेटमा  १० लाखको लागतमा झिलमिला तालको परिक्रमा पथसमेत निर्माण गरिएको वडा अध्यक्ष राम नाथले जानकारी दिए।

तराई मधेश चुरे राष्ट्रिपति कार्यक्रमअन्तर्गत झिलमिला ताललाई पहिरोबाट पुरिन बाट जोगाउनका लागि चेक ड्यामसमेत निर्माण गरिएका छौँ उनले भने, “यसका लागि  १४ लाख रकम खर्चिएको छ।” झिलमिला तालको सौन्दर्य हेर्न जाने पर्यटकको सुविधाका लागि पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्यसमेत पूरा भएको छ। झिलमिला ताल रङ बदल्ने तालका रुपमा परिचित रहेको छ। 

पर्यटकको सहजताका लागि धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरा पुग्ने सडक कालोपत्रे गर्ने कार्य कार्य शुरुआत भएको छ। त्रिपुरा क्लबदेखिको सडकसमेत  १५ लाखको लागतमा वडा कार्यालयले कालोपत्रे गर्ने कार्य शुरुआत गरेको छ। पर्यटकीय वर्षलाई नै लक्षित गरी विश्वकर्म मन्दिरको पर्खाल निर्माणको कार्यसमेत गरिएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मल्टिस्पान झोलुङ्गे पुललगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटक र सर्वसाधारणका लागि वडा नं १६ मा  एक करोड ४० लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ। मझगाँउ विमानस्थलतर्फ जाने सडक कालोपत्रे गरिएको हो। यसबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न जाने पर्यटकका लागि सडक कालोपत्रे भएपछि सजता भएको छ। पहिला सडकको अवस्था बिग्रँदो अवस्थामा रहँदा पर्यटकले निकै सास्ती खेप्दै आएका थिए। पर्यटक र सर्वसाधारणको असहजतालाई महसुस गरी सडक कालोपत्रे गरिएको उहाँले जानकारी दिए।

शुक्लाफाँटा निकुञ्जतर्फ जाने सडकको बाह्रसिङ्गे चोकमा मध्यवर्ती समितिको सहयोगमा वडा कार्यालयले बाह्र सिङ्गेको प्रतिमा राख्नेसमेत भएको छ। नगरपालिकाको वडा नं १९ मा १८ किलोमिटर बढी क्षेत्रमा शुक्लाफाँटा पर्यटकीय मार्ग निर्माणको कार्य गरिएको छ। मार्ग निर्माणका लागि नयाँ ट्रयाक खोलिएको छ। 

पर्यटकीय मार्ग निर्माण भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज हुने वडाध्यक्ष दामोदर महराले जानकारी दिए। भीमदत्त नगरपालिका–१० मा रहेको कालिताल झर्नाको मनमोहक दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई मध्यनजर गर्दै पदमार्ग निर्माण गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत  १० लाख रकम परिचालन गरी पदमार्ग निर्माण गरिएको वडाध्यक्ष परमानन्द जोशीले बताए। उनका अनुसार सात किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ। पदमार्ग निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहजरुपमा झर्नासम्म पुग्न थालेका छन्। 

भीमदत्त नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र रौटेला पुग्ने सडक कालोपत्रे गर्ने कार्य गरिएको छ। जसबाट धार्मिकजनलाई पर्यटकीय क्षेत्रमा पुग्नका लागि निकै सहज भएको छ। विगतमा कच्ची सडक हुँदा सवारीसाधन गुड्न र पैदल हिँड्न निकै अप्ठेरो रहेको थियो। सडक कालोपत्रे भएसँगै यस क्षेत्रको विकासमा समेत टेवा पुगेको छ।  २५ हजारप्रति कट्ठाका दरले बिक्री हँुदै आएको जग्गाको मूल्य बढेर प्रतिकट्ठा रु सात लाख बढी पुगेको छ। 

भीमदत्त नगरपालिका–८ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र भम्केपानीमा सौर्यबत्ती जडान गरिएका छन्। वडा कार्यालयले  २० लाख बजेट परिचालन गरी सौर्यबत्तीको व्यवस्था गरेको हो। पर्यटकीय क्षेत्र भम्केपानीमा २० वटा सौर्यबत्ती जडान गरिएका छन्। सौर्यबत्ती जडान गरिएपछि धार्मिक पर्यटकीय क्षेत्रको सौन्दर्यता बढ्नुका साथै पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ। वडा कार्यालयकै पहलमा भम्केपानी क्षेत्रमा जाने सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्यसमेत गरिएको छ। पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहजरुपमा पुग्नका लागि सडक स्तरोन्नतिको कार्यलाई निरन्तरता दिँदै पर्यटकलाई आवश्यक पर्ने अन्य सुविधा प्रदान गर्नसमेत नगरपालिकाले योजना बनाई कार्य अगाडि बढाउनेसमेत जनाइएको छ। रासस

कमेन्ट लोड गर्नुस