जब मान्छे शिक्षित हुन्छ तब मात्रै सम्वृद्ध समाज निर्माण हुन्छः मुख्यमन्त्री भट्ट
अत्तरिया, कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्वृद्ध समाज निर्माणका लागी सबैभन्दा पहिला समुदायका सबै नागरिकहरु शिक्षित बन्न आवश्यक रहेको बताएका छन्। आइतबार अत्तरियामा रहेको समता विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सम्वृद्ध समाज र देश निर्माणका लागी हरेक नागरिकहरु शिक्षाको पहुँचमा पुग्न आवश्यक रहेको बताएका छन्।
मानवजिवनमा शिक्षा अत्यन्तै आवश्यक रहेको बताउँदै उनले शिक्षित नागरिकले आफ्नो मात्रै नभई समाज र समग्र देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे। ‘जब मान्छेले पढाई गर्न थाल्छ, नयाँ कुराको ज्ञान र सिप आदानप्रदान गर्छ तब उसले समाजका तथा देशका लागि केहि सोच्न थाल्छ’ उनले भने ‘हो त्यसैले आफ्नो गाँउघर समाज र देशको नाम उच्च राख्नकालागी अहिले सबैलाई शिक्षाको आवश्यकता अनिवार्य छ।’
मख्यमन्त्री भट्टले सरकारले शिक्षामा लगानी बढाउदै लगेको बताएका छन्। यद्धपी सरकारले गरेको लगानीलाई व्यवस्थित गर्न नसक्दा सरकारको लगानी सहिठाँउमा जान नसकेको उनले बताए।
उनले सहि व्यवस्थापन भएमा थोरै लगानीबाट पनि धेरैलाई शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा समता विद्यालयले गरेर देखाएकोमा स्कुलको प्रशंसा गरे। उनले समता विद्यालयले जिल्लामा एउटा मात्रै नभएर अझै शाखाहरु बिस्तार गरेर विद्यालयको पहुँचभन्दा बहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन सहयोग गर्न आग्रह गरे। त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग आफु गर्न तयार रहेको उनले बताए।