धनगढीमा विकास सम्मेलन हुने
धनगढी : धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन गर्ने भएको छ। धनगढीको योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन बारे सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उप महानगरपालिकाले जानकारी दिएको छ।
धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य योजनाहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए।
उनका अनुसार विकास सम्मेलनमा नगरबासीले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ।
नगरको विकासका लागि नागरीकसंग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने जानकारी समेत दिईएको छ। सम्मेलन फल्गुन १८ गते हुनेछ।