कैलाली र कञ्चनपुरमा पटक–पटक सीमा क्षेत्रको सर्वेक्षण, विवाद भने यथावत
कैलाली र कञ्चनपुरमा चौथो पटक सीमा क्षेत्रको अध्ययन तथा सर्वेक्षणको काम सुरु गर्ने तयारी भएको छ। नेपाल र भारतका सरकारी अधिकारी सम्मिलीत संयुक्त सीमा सर्भे टोलीले अध्यययन तथा सर्वेक्षणको काम चौथो पटक सुरु गरिरहेको हो। तर कैलाली–कञ्चनपुरका विभिन्न स्थानमा देखिएको सीमा विवाद भने यथावत छ। यस वर्षपनि अध्ययन तथा सर्वेक्षण गर्ने टोली कैलाली, कञ्चनपुर आईसकेको छ।
उक्त टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्न लागेको हो। कैलालीको सात सय नम्बर सीमा स्तम्भदेखि सर्वेक्षण थालिएकोमा कैलालीमै फुलबारी क्षेत्रको ७ सय ४२ नम्बर पिल्लरमा विवाद रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए।
अहिले सीमा स्तम्भको अध्ययन तथा सर्वेक्षण गर्ने टोलीले फिल्डको अवस्था बुझ्ने र विवादित क्षेत्रमा स्थानीयको सुझाव लिने लगायतका कामहरु मात्र गरिरहेको उनले बताए। पहिलो चरणमा टोलीले स्थलगत अनुगमन गर्ने, लगत सङ्कलन गर्ने, सीमा स्तम्भ मर्मत गर्ने काम गरिएको छ। भत्केका बिग्रेका पिल्लरहरु भेटिएमा पुनःनिर्माणको लागि पहल गर्ने काम उक्त टोलीले गर्ने गरेको छ।
कञ्चनपुरको खल्लामसेट्टी देखि डोकेबजारसम्म ३ सय ९० सीमा स्तम्भमध्ये १०० सीमा स्तम्भ मात्रै व्यवस्थित छन् भने अन्य स्तम्भहरु जिर्ण अवस्थामा छन्। सीमा स्तम्भ नै नभएको स्थानमा भारतीय पक्षसंग विवाद देखिने गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताए। ‘अधिकास स्थानमा नेपाली भुमि भारतीय पक्षले खनजोत गरिरहेको छ,’ उनले भने ‘उक्त स्थानहरुमा नै बढी विवाद रहेको छ।’
तर उक्त स्थानहरुमा सर्वेटोलीको ध्यान जान सकेको छैन्। सीमा स्तम्भ व्यवस्थापनका लागि उक्त टोलीलाई पाँच महिनाको समय दिईएको छ। तर उक्त समय भित्र सीमा स्तम्भको अनुगमन गर्ने वाहेक अन्य काम हुन सकेको छैन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ को खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानी भित्र रहेका छन्।
यस्तै पुनर्वास नगरपालिकाको वडा नम्बर ९ प्यारातालपारी रहेको मुख्य सीमा स्तम्भ नम्बर एक सय ९५ जङ्गलमा ढलेको छ। यस्तै अन्य थुप्रै स्थानका सीमा स्तम्भहरु जिर्ण छन्। यो वर्षको अध्ययन टोलीले अधिकासं विवादहरु समाधान गर्ने दावी सीमा सर्वे संयुक्त टोलीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले बताए।