कैलालीमा कर्मचारीकै मिलेमतोमा तस्करी हुन थालेपछि वन संरक्षणमा चुनौती
कैलालीको सुनपाल सामुदायिक वनले राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गर्दै उपभोक्ता र काठ मिललाई वितरण गर्दै आएको सार्वजनिक भएपछि डिभिजन वनले छानविन समिति गठन गरेको थियो। सब–डिभिजन वन कार्यालय बडैपुरका कर्मचारीको पनि मिलोमतोमा राष्ट्रिय वन क्षेत्रको काठ तस्करी हुदै आएको भन्दै डिभिजन वनले सब–डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।
तर छानविन समिति पनि आर्थिक प्रलोभनमा परेको उपभोक्ताले आरोप लगाएका छन्। उनीहरुले बढि रुख कटानी भएको राष्ट्रिय वन क्षेत्रमा छानविन समिति नगएको बताएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ अन्तरगत पर्ने सुनपाल सामुदायिक वन क्षेत्रको राष्ट्रिय वन क्षेत्रको छानविन समितिले अनुगमन नगरेको पाइएको हो।
उपभोक्ताको एक समूहले वनका कर्मचारी गएको राष्ट्रिय वन क्षेत्रमा १२ बढि रुख काटिएको बताएका छन्। उनीहरुले वन कर्मचारीले अनुगमन गरेको क्षेत्रमा रुख र गोलियामा नम्बर लेखिएको बताए। समिति नगएका क्षेत्रमा १२ रुखको सयाँै क्यूफिट काठ वेवारिसे पारिएको उनीहरुले बताए।
समितिलाई पनि सामुदायिक वनले आर्थिक प्रलोभनमा परेकाले झारो टार्ने प्रतिवेदन तयार पारिएको एक उपभोक्ताले बताए। उनले भने, ‘वनका कर्मचारी राष्ट्रिय वन क्षेत्रमा अनुगमनमा आएका थिए। तर यो क्षेत्रमा आएका छैनन्। यो क्षेत्रमा १२ बढि रुख सम्म वनका कर्मचारी पुगेका छैनन्।’
गत बीहिबार मात्र जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका हेमन्त परियारलाई काठ तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। परियारसंगै अन्यको पनि सो तस्करीमा संग्लनता रहेको आरोप उपभोक्ताको छ। डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगतको सब–डिभिजन लम्कीलाई प्रहरीले परियारलाई बुझाएका थिए।
देउराली सामुदायिक वन उपभोक्ता समितिले संकलन गरेको एक गोलिया सालको काठ तस्करी भएको प्रहरीमा उपभोक्ताले सूचना दिएका थिए। उनीहरुले काठ तस्करीमा अन्यको पनि संलग्नता रहेको बताएका थिए। तर डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले अन्यको बारेमा जानकारी नभएको प्रतिक्रिया दिए।
उनले भने, ‘एक जना परियारलाई प्रहरीले बुझाएको थियो। तर अन्य तस्करको बारेमा जानकारी छैन्। अनुसन्धानबाट मात्र बाँकी खुल्छ।’ कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडामा रहेको राजीताल सामुदायिक वन उपभोक्ता समितिले काठ तस्करलाई जोगाउन जंगलमा भेटिएको काठलाई वेवारिसे बनाईदिएको छ।
उपभोक्ता समितिले जंगलमा भेटिएको आलो सालको गोलिया र १६ कडि बेवारिसे बनाएको छ। तर वन कार्यालयले सामुदायिक वनलाई छानविनमा दायारमा ल्याउन सकेको छैन्। सामुदायिक वनका अध्यक्ष देवराज ऐरले जंगलमा भेटिएको काठ बेवारिसे भएको दावी गरे।
उनले भने ‘सामुदायिक वनमा रुख काटिएको पाइएको छ। तर कसले काटेको भन्ने जानकारी छैन्। मष्टा धामका लागि काठ आवश्यक भएकाले उनीहरुलाई बोलाएका थियाँै।’ वनका कर्मचारीलाई भने त्यो बारेमा जानकारी छैन्।
राजीताल र सुनपाल जस्तै जिल्लाका अन्य धेरै सामुदायिक वनमा काठ तस्करीको जालो फैलिएको छ।
तर डिभिजन वन र सव डिभिजन वन कार्यालयहरुले भने सामुदायिक वनमाथि निगरानी समेत राख्न सकेका छैनन्। तस्करीको मुद्धा धेरै पेचिलो बने छानविन गरिन्छ तर छानविनको प्रतिवेदनमा पनि तस्करीमा संग्लनलाई जोगाउने प्रयास हुँदै आएको छ।
तर डिभिज वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले सुनपाल सामुदायिक वनको तस्करीको विषयमा गम्भीर रहेको बताए। उनले सुनपाल सामुदायिक वनले राष्ट्रिय वन क्षेत्रमा कटानी गरेको काठ केहि छुटेको गुनासो आएको बताए। तर फेरी अनुगमनका लागि निर्देशन दिएकाले सामुदायिक वनलाई मुद्दा लाग्ने दावी गरे।