Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

विशेषज्ञ सेवाको पर्खाइमा सेती प्रादेशिक अस्पताल

जनक विष्ट
२०७६ माघ १२, ०७:२८
अ+

सुदूरपश्चिममा मुटु र मृगौला सम्बन्धी रोग लागेर उपचार नपाएर दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाईसकेका छन् भने धेरै त आर्थिक अभावमा उपचारका लागि अन्यत्र जान नसकेपछि प्राण त्याग्न विवश भएका उदाहरण छन्। तर २८ लाख प्रदेशबासीको जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालको वषौँदेखिको विशेषज्ञ सेवा पर्खाइ अझै पूरा हुन सकेको छैन्।

राजनीतिक हस्तक्षेपले आन्तरिक कलहमा फसेको सेती प्रादेशिक अस्पताल वषौँदेखि मुटु, मृगौला र नसा रोग सम्बन्धी विशेषज्ञ सेवाको पर्खाइमा रहेपनि पूरा हुन नसकेको हो। विशेषज्ञ सेवाको अभावमा मुटु, मृगौला र नसा सम्बन्धीका गम्भीर प्रकृतिका रोग लागेमा प्रदेश बाहिर धाउनुपर्ने बाध्यता रहेको छ भने उपचार गराउँदा गराउँदै धेरैको त उठिबास नै लागिसकेको छ।

देश संघिय संरचनामा गएर अस्पताल प्रदेश सरकार मातहत आईसकेपनि विशेषज्ञ सेवा विस्तारको छनक देखिएको छैन्।  मुटु, मृगौला र न्युरो सम्बन्धीको सेवा नभएकै कारण उपचारका लागि पुग्ने विरामीलाई अन्यत्र रेफर गर्नू बाहेकको विकल्प नभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।

तत्कालीन अञ्चल अस्पताल नाममा स्तरोन्नती भएर प्रादेशिक बनेपनि विशेषज्ञ सेवा विस्तार हुन नसकेको हो। मेसु पाण्डेले मुटु, मृगौला र नसा सम्बन्धीको विशेषज्ञ सेवा तत्कालै सञ्चालन गनूपर्ने आवश्यकता रहेको बताए। वषौँदेखि विशेषज्ञ सेवाको पर्खाइमा रहेको सेती प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आईसकेपछि पूरा हुने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन।

छ महिना अघि मात्रै आएको व्यवस्थापन समितिले भने अस्पतालको सेवा सुधार भन्दा पनि निहित स्वार्थ पूर्ती गर्न च्यानल मिलाउन संघर्ष गरिरहेको आरोप लाग्दै आएको छ। अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्दै आवश्यक पर्ने औजार उपकरण समेत खरिद गर्नुपर्ने हुन्छ।

अस्पतालको आन्तरिक बजेटले विशेषज्ञ सेवा सञ्चालन गर्न नसकिने भएकाले संघिय सरकारबाटै पहल गरिनुपर्ने मेडिकल सुपरीटेन्डेन्ट पाण्डे बताउँछन्। उनले मृगौला, मुटु सम्बन्धीको विशेषज्ञ सेवाका लागि संघिय सरकारले चिकित्सक मात्रै पठाई दिएमा उपचारमा आवश्यक पर्ने औजार, उपकरण विस्तारै व्यवस्थापन गर्दै लैजान सकिने बताए।

तर प्रदेश सरकार, व्यवस्थापन समिति र यसक्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले विशेषज्ञ सेवाका लागि पहल नगरेको पनि आरोप लाग्ने गरेको छ। अस्पतालमा अहिले पाँच शैयाको आईसियु सेवा सञ्चालन रहेपनि बिरामीको बढ्दो चापका कारण पर्याप्त हुन सकेको छैन्।

आईसीयु सेवाका लागि पनि थप शैया विस्तार गर्नूपर्ने आवश्यकता रहेको छ भने सोही अनुसारको जनशक्ति पनि व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि अस्पतालको काधमा रहेको छ। हुन त अस्पतालले अहिले विशेषज्ञ चिकित्सक र नर्सिङ कर्मचारीको माग गर्दै विज्ञापन खोल्ने तयारी समेत गरेको छ।

त्यो जनशक्ति व्यवस्थापन भए सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ तर विशेषज्ञ सेवाका लागि भने संघिय सरकारबाटै पहल गरिनुपर्ने अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएमा २८ लाख प्रदेशबासीले गम्भीर प्रकृतिका रोगको उपचारका लागि परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।

तर पछिल्लो पटक गठन भएको अस्पताल व्यवस्थापन समितिको ध्यान निहित स्वार्थ पूर्ती गर्नमा गएपछि सेवा सुधारका लागि आवश्यक पहल हुनेमा आशंका पनि व्यक्त गरिदै आएको छ।  
   

जनक विष्ट दिनेश खवरका सह सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

Skip Ad