सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृहजिल्लामा महिला संघपछि नेविसंघमा पनि ‘लफडा’

२०७६ माघ १०, ०९:३१ आशिष मल्ल

धनगढी: नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा महिला संघमा भएको विवादको केहि समय नबित्दै फेरि अर्को विवाद चुलिएको छ। यतिबेला नेपाल विद्यार्थी संघ डडेल्धुरामा ‘लफडा’ सुरु भएको छ। नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष र कार्यवाहक अध्यक्षले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन्।

यसअघि यस्तै लफडा डडेल्धुरा महिला संघमा पनि भएको थियो। नेपाल महिला संघको केन्द्रीय समितिबाट एकाएक संघको कमला विष्ट अध्यक्ष रहेको जिल्ला कार्यसमितिलाई विघटनगरि तत्कालिन उपाध्यक्ष तथा परशुराम नगरपालीकाकी उपाध्यक्ष कलापती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रुपमा पत्राचार गरिएपछि डडेल्धुरा महिला संघमा विवाद उत्पन्न भएको थियो। त्यतिबेला आफुलाई महिला संघको अध्यक्ष बताउने कमला विष्ट र कलावती कलापती बोहरा दुवैले एकअर्कालाई कारबाही गरेको भनेर विभिन्न पत्र काटेका थिए। 

त्यो विवाद साम्य हुन नपाउँदै डडेल्धुरा कांग्रेसमा फेरि हलचल मच्चिएको छ। बिहिबार मात्रै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना प्रविधि विधेयक विरुद्धमा बिहीबार युवाहरुले पुतला दहन कार्यक्रममा पार्टी सभापतिकै पुतला दहन गरेपछि नेविसंघ डडेल्धुरामा रडाको मच्चिएको छ। 

नेपाल विद्यार्थी संघका अध्यक्ष दिपेन्द्र भट्टले कार्यसमिति सदस्य पदम भण्डारी संघको निति निर्देशन विपरित उछृङ्खल गतिविधि संञ्चालन गरेको भन्दै कारवाही गरेको जनाएका छन्। नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस पार्टीको धारणामा आच आउन पुगेकाले जिल्ला कार्यसमिति बाट निस्काशित गरिएको र नेपाल विद्यार्थी संघको कुनैपनि ओहदामा नरहेको भन्दै विज्ञप्तिमार्फत कारवाही गरेको जनाएका छन्। 

अध्यक्ष दिपेन्द्र भट्टले शुक्रबार विज्ञप्ति जारीगरी पार्टीको निर्देशन विपरितका गतिविधीमा संलग्न नहुन आग्रह गरेका छन्। सदरमुकाममा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरुद्धमा अन्दोलनका गतिविधि सञ्चालन भइरहेको र उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघका केही व्यक्तिहरू संलग्न रहेकाप्रति नेपाल विद्यार्थी संघ डडेल्धुराको गम्भीर ध्यानकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

साथै कार्यवाहक अध्यक्ष पदम भण्डारीले पनि शुक्रबार नै विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्ट नेविसंघको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी गराएका छन्। 

अध्यक्ष भट्टले नेविसंघको विधिविधान विपरीत संगठनको मान मर्यादामा आँचआउने गतिविधी संञ्चालन गरेको, अध्यक्ष भएदेखि कुनैपनि कार्य नगरेको, पदको दुरुपयोग गरि चन्दा संकलन गरेको, संगठनको निति विपरीत जिल्ला सदस्य मनोनित गरेको, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहयोग नगरेको अरोप लगाउँदै अध्यक्षलाई कारबाही गरेको जनाएका छन्। 

बिहीबार बेलुका जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपीशर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएको थियो। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस