सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

२०७६ माघ १०, ०६:५८ खबर संवाददाता

धनगढी: धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ। कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको  हो। 

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सुदूरपश्चिम प्रादेशिक खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्लले उद्घाटन गरेका छन्। कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ठ अतिथि नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक समितिका कोषाध्यक्ष दिनेश सिंह रहेका थिए।  

क्रिकेट प्रतियोगितामा सहभागी आठ वटा टिमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले प्रायोजन गरेका छन्। व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। उनले विद्यालय स्तरीय प्रतियोगिताको माध्यमले महिला खेलाडीहरुसँग भएको क्षमतालाई पहिचान गर्दै आगामी दिनमा प्रशिक्षणको व्यवस्था समेत गरिने बताए।   

प्रतियोगितामा सहभागी ब्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन्। त्यसैगरी शारदा माविलाई सुदूरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पियन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन्।

प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा ब्रोड भिजन एकेडेमी, एरिष्टो ईङलिस स्कुल, त्रिभुवन मावि र लिटिल फ्लावर स्कुल रहेका छन्। त्यसैगरी समुह ‘वी’ मा राष्ट्रिय तुलसीराम मावि, शारदा मावि, क्यास्पीयन एकेडेमी र धनगढी नमूना मावि रहेका छन्। 

प्रतियोगिताको पहिलो दिनका खेलमा ब्रोड भिजन र भित्रुवन मावि विजयी भएका छन्। व्रोड भिजनले एरिष्टो स्कुलाई ५ विकेटले हराएको हो। पहिलो व्याटिङ गर्दै एरिष्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर ६९ रन बनायो। 

प्रतिउत्तरमा ब्रोड भिजनले ९ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य भेटायो। दोस्रो खेलमा त्रिभुवन माविले लिटिल फ्लावरलाई ३६ रनले हरायो। पहिलो व्याटिङ गर्दै त्रिभुवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो।

लिटिल फ्लावरले भने सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो। प्रतियोगिताको दोस्रो दिन तीन खेल हुनेछन्। पहिलो खेलमा धनगढी नमुना मावि र शारदा मावि दोस्रो खेलमा राष्ट्रिय तुल्सीराम मावि र क्यास्पीयन एकेडेमी र तेस्रो खेलमा ब्रोड भिजन र त्रिभुवन मावि प्रतिस्पर्धा गर्नेछन्। 

आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ।

कमेन्ट लोड गर्नुस