सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको विकास बजेटले व्यवस्थापन समितिका पदाधिकारीलाई सवारी साधन खरिद

२०७६ माघ ९, १२:१२ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समिति आएपछि धेरैले सेवा सुधारको अपेक्षा गरेका थिए। २८ लाख सुदूरपश्चिमेलीको जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने  रेफरल सेती अस्पतालले व्यवस्थापन समिति पाएपछि सुधार हुनुको सट्टा आन्तरिक कलह बढेको छ।

२९ साउनमा प्रदेशको मन्त्रीपरिषद् बैठकले दुर्गादत्त जोशीलाई व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेदेखि नै सेती अस्पताल आन्तरिक विवादमा फसेको छ। जोशीले अस्पतालमा लामो समयदेखि काम गर्दै आएका चिकित्सकहरुलाई वाईपास गर्दै राजनीतिक शक्ति र प्राप्त अधिकारको गलत प्रयोग गरिरहेको आरोप छ।

फितलो व्यवस्थापनले लथालिङ बनेको सेती अस्पतालको सेवा सुधार गर्दै आएका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डे र अन्यत्र समायोजन भएर पनि अस्पतालको आवश्यकतालाई ध्यानमा राखेर काजमा सेवा दिदै आएका चिकित्सकमाथि अध्यक्ष जोशीले अनावश्यक प्रहार गर्न थालेका छन्।

उनले अस्पतालको भन्दा पनि आफ्नो व्यक्तिगत हित हुनेगरी कार्य सम्पादन गरिरहेको आरोप लागेको छ। ‘अहिले कार्यरत डाक्टरलाई अनावश्यक तनाव दिएर अन्यत्र पठाउन सके निकटका व्यक्तिलाई करार सेवामा नियुक्त गरी आर्थिक लाभ लिने दिने कसरतमा उनी छन्।’ अस्पताल स्रोतले भन्यो।

जोशीले पछिल्लो समय सोही अनुसारका गतिविधी गरिरहेका छन्। स्रोतले बताउँदै आएको छ। जोशीले आफू अनुकुल कसरी कार्य सम्पादन गर्दै आएका छन् भन्ने नमूनाका रुपमा सवारी साधन खरिदलाई लिईएको छ। व्यवस्थापन समितिको अध्यक्ष भएर आए लगत्तै जोशीले सवारी साधनको माग गरे।

उनले व्यवस्थापन समितिको बैठकबाट निर्णय गर्दै दुईवटा मोटरसाईकल खरिद गरेका छन्। अस्पतालको विकासका लागि आएको बजेटले जोशीले मोटरसाईकल खरिद गरेका छन्। जुन कानून विपरीत भएको अधिकारी बताउँछन्। सुदूरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७५ को दफा ७ को उपदफा १ र २ ले समितिका पदाधिकारी र सदस्यको सेवा सुविधा स्पष्ट तोकेको छ।

सोही आदेशको दफा ७ कै उपदफा ३ मा भनिएको छ, उपदफा १ र २ मा तोकिएको सुविधा बाहेक समितिका पदाधिकारीलाई मासिक तलब भत्ता लगायतका कुनै सुविधा उपलब्ध गराइने छैन्। उपदफा १ ले पदाधिकारी र सदस्यले बैठकमा भाग लिदा प्रचलित कानून बमोजिम भत्ता पाउने व्यवस्था गरेको छ भने  उपदफा २ ले अस्पतालको कामको सिलसिलामा वा अस्पतालको सुधार तथा साधन स्रोत जटाउन वा माथिल्लो तहबाट कुनै थप निर्णय गराउन वा समन्वय गर्न जानु परेमा निर्णय गराई स्वदेशभित्रै भ्रमणमा जान सक्ने र दैनिक भ्रमण भत्ता प्रचलित कानून अनुसार हुने व्यवस्था गरेको छ।

सोही दफाको उपदफा ४ मा अस्पतालको कुनै चलअचल सम्पत्ती तथा सवारी साधन समितिको अध्यक्ष लगायतका पदाधिकारीहरुले व्यक्तिगत प्रयोग गर्न पाउने छैन्। तर सेती अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले भने सवारी साधन खरिद गरी व्यक्तिगत काम प्रयोजनमा पनि प्रयोग गरेको आरोप लागेको छ।

अस्पताल स्रोतले भन्यो,‘व्यवस्थापन समिति आएपछि निर्णय गरी समितिकै लागि दुईवटा मोटरसाईकल खरिद ग¥र्यो, ती मोटरसाईकल हुँदा हुँदै अध्यक्षले अस्पतालको गाडी पनि प्रयोग गर्छन्।’ ‘उनी अस्पतालको कामको सिलसिलामा बाहिर नगएपनि धनगढीमै भएका बेला पनि गाडी लगेर जाने गरेका छन्। यो कानून विपरीत छ, अरु सदस्यले पनि मोटरसाईकल व्यक्तिगत कामकै लागि प्रयोग गर्छन्।’

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले अस्पतालकै काम प्रयोजनमा बाहिर जानु परे मात्रै गाडी प्रयोग गर्ने  गरिएको दावी गरेका छन्। उनले गठन आदेशमा पनि व्यक्तिगत कामका लागि प्रयोग गर्न नपाउने व्यवस्था गरेका कारण त्यसरी प्रयोग नगर्ने बताए।

अस्पतालको गाडी पनि एयरपोर्ट जान आउन बाहेक प्रयोग नगरिएको दावी जोशीको छ। चिकित्सकहरुको मनोबल गिराउने खालका गतिविधी आफूले गरेको भन्ने आरोप पनि निराधार भएको उनी दावी गर्छन्। तर काम गर्ने सिलसिलामा एक–आपसमा तितोमिठो बोलिएपनि  अपमान गर्ने आफ्नो नियत नभएको जोशीको भनाई छ। 

 
   
 

कमेन्ट लोड गर्नुस