सुदूर नेपाललाई विश्वसँग जोड्दै

बार्सिलोना र रियल मड्रिड ’कोपा डेल रे’ को अन्तिम १६ मा

२०७६ माघ ९, ०७:१८ खबर संवाददाता

’कोपा डेल रे’ को सर्वा्धिक सफल टिम बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको इबिजालाई दुई–एक गोल अन्तरले हरायो। ३० पटकको कोपा डेल रे च्याम्पियन बार्सिलोनालाई जित दिलाउनका लागि एन्ट्वान ग्रिजम्यान नायक बने।

सुरुमै एक गोलले पछि परेको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल फर्काउन सफल भयो। लियोनल मेस्सी र जेरार्ड पिकेलाई आराम दिइएको खेलमा इबिजाले नवौं मिनेटमै अग्रता लियो। इबिजाको मैदानमा भएको खेलमा जाभी पेरेजको गोलमार्फत घरेलु टिमले अग्रता लिएको थियो।

७२औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा र्पुयाए। त्यसपछि इन्ज्युरी समयमा पनि ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए। बार्सिलोनाले अहिलेसम्म ३० पटक कोपा डेल रेको उपाधि जितिसकेको छ भने पछिल्लो पाँच सिजनमा मात्र चार पटक च्याम्पियन भइसकेको छ।

रियल मड्रिड पनि सालमान्कालाई तीन–एक गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। तेस्रो डिभिजनको पुछारमा रहेको सालामान्कालाई हराउनका लागि ग्यारेथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने अर्को एक गोल रियलले आत्मघाती पाएको थियो।

१८औँ मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ५७ औँ मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै खेल बराबरीमा र्पुयाए। ६२ औँ मिनेटमा हुवान गोंगोराले आत्मघाती गोल गर्दा रियल मड्रिडले अग्रता लियो। इन्ज्युरी समयमा डियाजले गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो। सेभिया, एथ्लेटिक क्लब, भ्यालेन्सिया, ग्रानाडा, भिल्लारियल र रियल सोसियडाड पनि प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन्। 
 

कमेन्ट लोड गर्नुस