सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कानून मिचेर नदीजन्य पदार्थ दाेहन

फाईल फोटो
फाईल फोटो
२०७६ माघ ५, १२:१८ कमल सावद

कैलालीको गोदावरी नगरपालिकाले खुटिया नदीको आठ करोडमा नदीजन्य पदार्थ निकासी तथा ढुवानीका लागि ठेक्का दिएको छ। नगरपालिकाबाट स्वीकृती लिएको भन्दै नदीबाट दैनिक डोजर प्रयोग गर्दै नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी गरिदै आएको छ।

स्थानीयले भने बस्ती नजिकैबाट नदीजन्य वस्तु उत्खनन् गरी निकासी गर्दै दोहोन गरेको भन्दै विरोध गर्दै आएका छन्। तर गोदावरी नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश सरकारले सुनुवाई गरेको छैन्। आर्थिक लेनदेनमा ऐन विपरित नदीजन्य पदार्थ निकासी हुदै आएको उनीहरुको आरोप छ। एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘दैनिक एक दर्जन बढि डोजर नदीमा प्रयोग हुदै आएका छन्। बस्ती जोखिममा रहेको भन्दै स्थानीयले विरोध गरेका थिए। तर अहिले केही छैन्। मनोमानी नदीबाट बालुवा निकासी हुदैछ।’ आन्दोलनको अगुवाई गरिरहेका व्यक्तिलाई पनि आर्थिक लेनदेनमा मिलाइएको आरोप लागेको छ।

कैलालीका अधिकांस नदीबाट प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ विपरित नदीजन्य पदार्थ संकलन भईरहेको छ। राष्ट्रिय वन क्षेत्र, चुरे तथा संवेदनशील क्षेत्र, संरक्षित क्षेत्र तथा स्वीकृत भएको भन्दा बढि नदीजन्य पदार्थ संकलन गर्न कार्यविधीमा रोक लगाएको छ। राजमार्गमा पानी खस्ने गरी त्रिपाल बिना ढुवानी गर्न पनि कार्यविधिमा रोक लगाइएको छ। तर ऐन विपरित नदीजन्य पदार्थ दोहोन र ढुवानी हुदै आएको छ। स्थानीय तह, जिल्ला समन्वय समिति र सुदूरपश्चिम सरकारले अनुगमन समेत गरेका छन्।

जिल्लाको गोदावरी नगरपालिकाका आन्तरिक लेखा परिक्षक अधिकृत राजेश प्रसाद जोशीले जिल्ला समन्वय समितिको समूह एक पटक मात्र अनुगमनमा आएको बताए। उनले भने, ‘नगरपालिको तीन नदीबाट नदीजन्य पर्दाथ निकासीका लागि ठेक्का दिएको छ। तर नदीजन्य पर्दाथ निकासी भएको नदीको अनुगमन भने भएको छैन्। केही समय पहिले स्थानीयको विरोध आउने गरेको थियो। अहिले छैन्।’ गत आर्थिक वर्ष २०७५-०७६ मा जिल्लाका विभिन्न नदीमा डोजर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन भएको भन्दै अनुगमन गरिएको थियो। केही उपकरण नियन्त्रणमा पनि लिइएको थियो। चालु अर्थिक वर्षमा अनुगमन समेत नहुनु, कार्यविधिलाई पालना नगर्ने स्थानीय तहलाई पत्राचार गर्न नसक्नुलाई पनि आशंकाका रुपमा हेरिएको छ।

तर जिल्ला समन्वय समिति कैलालीका प्रमुख एवंम जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक सुर्यबहादुर थापाले अनुगमनको तयारीमा रहेको दावी गरे। ‘यो पटक अनुगमन भएको छैन्। कही दिन भित्र अनुगमनको तयारीमा छाँै। नदीको ठेक्का पाएका कम्पनीले नदीको दोहोन गरेको पाइएको छ। जिल्लाका नदी खतरामा छन्। अब स्थानीय तहले खानी निर्माण गर्दै ठेक्का दिने निर्णय गरेका छौँ। नदीबाट स्थानीय तहले मात्र नदीजन्य पदार्थ निकासी गर्नेछ।’ उनले भने।

नदीमा भएको दोहोनले बस्ती जोखिममा रहेको भन्दै विरोध गर्ने गोदावरी नगरपालिकाको खुटीया नदी क्षेत्रका स्थानीय अहिले पछि हटेका छन्। उनीहरुको गुनासो स्थानीय तहले सुनुवाई नगरेपछि बाध्य भएर पछी हटेका हुन् ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस