सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अपराधिक गतिविधीमा बालबालिकाको संलग्नता बढ्दै

२०७६ माघ ४, ०१:५२ जनक विष्ट

डोटीमा गत वर्षदेखि संघिय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालनमा ल्याएको बाल सुधार गृहमा अहिले कैदीबन्दी र थुनुवा समेत गरेर ४८ बालक आश्रीत छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्तीकरणी, चोरी, आगजनी तथा उपद्रो मुद्दाका १४ जना कैदीबन्दी र ३४ थुनुवा गरी ४८ बालक आश्रीत रहेका छन्।

२५ जनाको क्षमता रहेकोमा सुदूरपश्चिमका नौ जिल्लाका ४४ बालक, दाङका तीन र भारतका एकजना बालक आश्रीत रहेको बाल सुधार गृह डोटीकी प्रमुख सानुमाया लिम्बु गुरुङले बताईन्। अहिले ४८ जना आश्रीत रहेको सुधार गृहबाट २६ जना भने यसअघि नै छुटिसकेको गुरुङले दिनेश खबरलाई जानकारी दिईन्।

त्यसमा केही बालक अदालतबाट सफाई पाएका त कतिपय कैद भुक्तान गरिसकेपछि छुटेको बाल सुधार गृहले जनाएको छ। गृहका अनुसार सबैभन्दा कैलालीका १४ र बैतडी तथा डडेल्धुराका पाँच÷पाँच बालक आश्रीत रहेका छन्। २५ जनाको क्षमता रहेको सुधार गृहमा झण्डै दोब्बर आश्रीत हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ।  

उक्त तथ्याङकलाई हेर्दा सुदूरपश्चिममा पछिल्लो समय १८ वर्ष मुनीका बालकहरु अपराधिक गतिविधीमा संलग्न हुने क्रम बढ्दै गएको छ। खासगरी हत्या हिंसा, बलात्कार, चोरी डकैतीसंगै लागु औषध दुव्र्यशनीमा पनि बालबालिकाको संलग्नता बढ्दो क्रममा रहेको प्रहरीले पनि बताउँदै आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पछिल्लो समय अपराधिक गतिविधीमा बालबालिकाको संख्या बढ्दै गएको बताए। ‘कानूनमा १८ वर्ष सम्मकोलाई बालबालिका भनेर उल्लेख गरिएको छ, त्यो उमेर समूहकै भएका कारण पनि संख्या बढेको देखिन्छ।’ प्रहरी नायब उपरिक्षक बस्नेतले भने।

लागु औषध, स–साना चोरीका घटनामा बालबालिकाको बढी संलग्नता देखिएको उनले बताए। १० देखि १८ वर्ष मुनीको उमेर समूहका बालबालिका जिज्ञासु र चन्चले हुने गर्दछन्। यो बेला उनीहरुलाई उचित हेरचाहको आवश्यकता हुन्छ भने उचिन सल्लाह र संरक्षण नपाएमा उनीहरु गलत बाटो लाग्न सक्ने सम्भावना धेरै हुन्छ।

तर बदलिदो समाजमा अभिभावकले बालबालिकाको उचित संरक्षण र हेरचाह गर्न नसक्दा उनीहरु कुलतमा फस्ने गरेको देखिएको प्रहरी नायब उपरिक्षक बस्नतेले बताए। गलत साथीसंगती पनि मुख्य समस्याका रुपमा देखा परेकाले अभिभावकले छोराछोरीको उचित हेरचाह गर्नुपर्ने, मार्ग निर्देशन गर्नुपर्ने, शिक्षकले पनि यो उमेरका विद्यार्थीलाई विशेष निगरानीमा राख्नुपर्ने सुझाव बस्नेतले दिए।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुले पनि बालबालिकाको उचित हेरचाहको अभावकै कारण अपराधिक गतिवधीमा उनीहरुको संलग्नता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अपराधिक गतिविधीमा बालबालिकाको बढ्दो संलग्नतालाई नियन्त्रण गर्न अभिभावक, शिक्षक एवंम समाजका सचेत वर्गले गम्भीर बन्नुपर्ने आवश्यक देखिएको बाल हेल्प लाईन धनगढीकी प्रमुख विष्णु पौडेलले बताईन्।

भविष्यका कर्णधारका रुपमा हेरिएका बालबालिकाहरुको जघन्य अपराधीक गतिविधीमा संलग्नता बढ्नुलाई गम्भीर रुपमा लिदै राज्यले पनि सोही अनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ।  

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस