६ महिनामा सुदूरपश्चिम सरकारद्वारा १० प्रतिशत विकास बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा १० प्रतिशत पुँजिगत अर्थात विकास बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालु र पुँजिगत गरी २८ अर्व १६ करोड बजेट रहेकोमा पुँजिगत तर्फ अहिले सम्म एक अर्व ३४ करोड ५२ लाख खर्च भएको छ।
जुन कुल पुँजिगत बजेटको १० दशमलव ३ प्रतिशत हुन्छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको खर्च प्रगती बारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत बर्षको तुलनामा यस बर्ष खर्च प्रगती सन्तोषजनक रहेको बताए। उनका अनुसार गत बर्ष यहि समयमा एक दशमलव ४१ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएको थियो।
‘सुदूरपश्चिम प्रदेश सरकारका विकासे योजनाहरु कार्यान्वयनमा गएका छन्,’ मन्त्री बोहराले भने, ‘अहिले तथ्याङकमा खर्च कम देखिएको छ। भौतिक प्रगति भने ३० प्रतिशत भन्दा बढि छ। यसबर्ष बाँकी ९० प्रतिशत पनि खर्च हुन्छ।’
प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा सबैभन्दा बढि प्रदेश सभा सचिवालयले २० प्रतिशत पूँजिगत बजेट खर्च गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुँजिगत खर्च सबैभन्दा कम छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुन्य दशमलव ३० प्रतिशत पुँजिगत बजेट खर्च भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको दुइ दशमलव ४९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच दशमलव ६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छ दशमलव ४९ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयको छ दशमलव २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ दशमलव ७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको चार दशमलव ९९ प्रतिशत पुँजिगत बजेट खर्च भएको छ।