सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

२०७६ माघ ३, ०६:२७

रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए। अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए। घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ।

तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको सँगै कार्यरत नेपालीले बताए। अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए।

ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। -रासस

कमेन्ट लोड गर्नुस