सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्महत्या गरेका वडाअध्यक्षको अन्त्येष्टि

२०७६ माघ ३, ०३:४३ खबर संवाददाता

बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको अन्त्येष्टि गरिएको छ। 

बुधबार भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा  भेटिएका उनको शव बिहीबार नेपाल ल्याइएको थियो। उनको शुक्रबार विहान अन्त्येष्टि गरिएको कोहलपुरका मेयर लुटबहादुर रावतले बताए।

खड्का रहेको होटलको कोठामा २२ पाना लामो ‘सुसाइड नोट’ भेटिएको छ। मेयर रावतले अनलाइनखबरलाई बताएअनुसार नोटमा खड्काले आर्थिक समस्यामा फसेको उल्लेख गरेका छन्। पारिवारिक स्रोतका अनुसार उनको बैंकमा करिब २० लाख रुपैयाँ ऋण थियो।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिँडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका थिए। ‘पहिले नोट भेटिएको थिएन। खाटको किनारमा अड्किएको रहेछ’, मेयर रावतले, ‘सानो कपीमा उहाँले लामो नोट लेख्नु भएको छ।’

खड्का परिवार जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएको थियो। उनी २९ पुसमा सुर्खेत जान भनेर घरबाट निस्किएका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला सदस्य हुन्।
 

कमेन्ट लोड गर्नुस