सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार्यान्वयनमा रहेका ठुला आयोजनाको काम कछुवा गतिमा

सहजपुर बोगटान सडक
सहजपुर बोगटान सडक
२०७६ माघ ३, १२:४५ जनक विष्ट

कैलालीमा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेका छ वटा ठुला पूर्वाधार विकासका आयोजनाको कामले तिव्रता पाउन नसकेको पाईएको छ। गत वर्ष झण्डै दुई अर्ब बजेट फ्रिज गरेका ठुला पूर्वाधार विकासका आयोजनाले चालु वर्षमा पनि कामलाई तिव्रता दिन नसकेको देखिएको हो।

जिल्लामा विगतदेखि नै कार्यान्वयनमा रहेका ठुला पूर्वाधारका योजनाले तिव्रता पाउन नसकेको हो।  आर्थिक वर्षको छ महिना बितिसक्दा समेत पूर्वाधारका ठुला योजनाको काम कछुवा गतिमै छ। जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ६५ करोड बजेट रहेको रानीजमरा कुलरिया सिँचाई आयोजनाले कृषि तथा पुशपालन क्षेत्रका प्रवर्धनात्मक कार्यक्रमलाई कार्यान्वयनको चरण लगेको छ तर कृषिमै यान्त्रिकीकरण, कोल्ड स्टोर निर्माण लगायतका पूर्वाधारतर्फ कार्यक्रममा भने ढिलाई गरेको छ।

तर रानीजमरा कुलरिया सिँचाई आयोजनाको कृषितर्फका कार्यक्रम हेर्दै आएका भरत कडेलले प्रर्वधनात्मक कार्यक्रम कार्यान्वयनको चरण गएको बताए। तर छ करोड बजेट रहेको कोल्ड स्टोर निर्माण र ४ करोडको यान्त्रिकीकरण कार्यक्रमका लागि पनि प्रक्रिया सुरु गरिएको दावी गरे।

विश्व बैँकको अनुदानमा कोल्ड स्टोर निर्माण हुने भएकाले केही ढिलाई भएको उनी बताउँछन्।  रानीजमरापछि ८७ करोड बजेट रहेको सहजपुर–बोगटान सडकको कामले पनि गति लिन सकेको छैन्। ३० महिनाको समयावधी तोकेर निर्माण थालिएको सडकमा एक वर्षमा १३ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ।

सहजपुर बोगटान सडकको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार भएपनि रुख कटान आदेश नपाउँदा ढिलाई भईरहेको दावी गरिएको छ। तर अहिलेको कामलाई पनि सन्तोशजनक नै मान्न सकिने आयोजना कार्यालयको जिकिर छ।

सहजपुर–बोगटान सडक आयोजनाकी प्रमुख कल्पना अधिकारीले चालु वर्षमै कालोपत्रेको काम सुरु गर्ने तयारी भएपनि रुख कटानको आदेश आउन ढिलाई भएपछि समस्या भएको बताईन्। तर काममा ढिलाई भने नभएको अधिकारीले दावी गरिन्।

रानीजमरा कुलरिया सिँचाई र सहजपुर बोगटान सडक आयोजना मात्र नभएर जिल्लामा कार्यान्वयनमा रहेका अन्य योजनाको कामले पनि गति सकेको छैन्। हुलाकी सडक योजना कार्यालयले चालु आर्थिक वर्षमा लम्की टीकापुर खक्रौला सडक र धनगढीदेखि सत्ती सम्मको सडकको स्तरोन्नती गर्ने भनेपनि अहिले सम्म ठेक्का सम्झौता गर्न सकेको छैन्।

हुलाकी सडक योजना कार्यालयले भने माथीबटै स्तरोन्नतीको ठेक्का सम्झौता हुने भएपनि केही समय लाग्ने जनाएको छ। कार्यालयका सूचना अधिकारी पदम बहादुर मडैले माथिबाटै ठेक्का सम्झौता हुने भएकाले अहिले कुनै निर्देशन नआएको उल्लेख गरे।

उनले ठेक्का प्रक्रिया भने सुरु भईसकेकोले छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे।  कैलालीमा यी बाहेक मोहनापुल अत्तरिया छ लेन सडक, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम र संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लगायतका आधा दर्जन ठुला पूर्वाधारका योजना कार्यान्वयन छन् तर कामले तिव्रता नपाउँदा ढिलाई भएको छ।

गत वर्ष झण्डै सवा २ अर्ब  फ्रिज हालेका ठुला योजनामा चालु वर्षको छ महिना सम्म ३ देखि २५ प्रतिशत बजेट मात्र खर्च भएको छ भने जिल्लाभरी नौ अर्ब ८३ करोड विकास बजेट रहेकोमा एक अर्ब ७७ करोड मात्रै खर्च भएको  कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मदनराज पाण्डेले बताए। तर ठुला पूर्वाधारका योजनाले तिव्रता नपाउँदा यस वर्ष पनि बजेट फ्रिज जाने त होईन भन्ने चिन्ता व्यक्त गरिन थालिएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस