सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकको ऋण तिर्न नसकेपछि वडाअध्यक्षले गरे आत्महत्या

२०७६ माघ ३, १२:३५ खबर संवाददाता

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्। ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ। खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका थिए।

कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको व्यहोरा रहेको बताए।‘उनको बैंकमा २०(२२ लाख रुपैयाँ ऋण रहेछ, त्यो ऋण तिर्न भनेर बैंकले निकै सताएको भन्ने कुरा उहाँले पत्रमा लेख्नुभएको छ,’ मेयर राउतले भने, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेखेका छन्।’

खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्। जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ। तर उनी  मेहलुकना नगई साढे १० बजेतिर सीमाना पार गरेर भारतीय बजार रुपैडिहा हुँदै बहराइच गएको मेयर राउतले जानकारी दिए।

सोही दिन दिउँसो ३ बजेतिर उनले होटल बुक गरेको र त्यसपछि पत्र लेखेर आत्महत्या गरेको देखिएको छ। उनको शव भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू बहराइच पुगेर घटनाबारे अध्ययन गरेर फर्केको मेयर राउतले जानकारी दिए। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी कुलदीप चन्दले पनि मेयर राउतले भनेझैं वडा अध्यक्षले विषादी सेवन गरी आत्महत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।

कमेन्ट लोड गर्नुस