सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सरकारले छनौट गरेका १० पर्यटकीय गन्तव्य ओझेलमा

२०७६ पुष २९, ११:०५ रोशन भट्ट

संघीय सरकारले तोकेका सुदूरपश्चिमका १० पयटकीय गन्तव्य पर्यटक तान्न असफल भएका छन्। संघीय सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरीका गन्तव्य छनोट गर्दा सुदूरपश्चिमबाट १० धार्मिक तथा पर्यटकीय स्थल समेत छनोटमा परेका थिए।

कैलालीको बर्दगोरीया मन्दिर धाम सहित कञ्चनपुरको भम्केनी धाम र बन्दा ताल, डडेल्धुराको अमरगढी र उग्रतारा, बैतडीको सिद्धनाथ उदयदेव धार्मिक स्थल, दार्चुलाको मालिकार्जुन, अछामको सुर्कोट मष्टादेवी मन्दिर, डोटीको वडिकेदार, बझाङको गोरखनाथ मन्दिर र बाजुराको कोल्टी–बडिमालिका पदमार्गलाई नयाँ पयर्टकीय गन्तव्यमा समावेश गरिएको थियो।

ती पर्यटकीय गन्तव्यको भौतिक पुर्वाधार निर्माण तथा प्रचार प्रसार गर्नको लागि संघीय सरकारले नै ५० लाखका दरले पाँच करोड बजेट समेत दिएको थियो। तर उक्त बजेट पुर्ण रुपमा खर्च हुन सकेन भने खर्च भएपनि सदुपयोग नहुँदा आवश्यक पूर्वाधार नै तयार पार्न नसकिएको कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले बताए।

‘बर्दगोरिया धाममा पर्यटक आउदैनन् तरपनि लगानी गरिरहेका छौँ’ उनले भने, भ्रमण वर्ष २०२० सुरु हुँदा पनि पर्यटक आएका छैनन्। सुदूरपश्चिममा थुप्रै पर्यटकलाई आकर्षण गर्न सक्ने गन्तव्य भएपनि राजनितिक आडमा १० गन्तव्यमा छनोट गरिएको आरोप समेत लागेको थियो।

बझाङको गोरखनाथ मन्दिरमा पनि ५० लाख बजेट आएको थियो। उक्त बजेट पनि पर्यटक आकर्षण हुने क्षेत्रमा खर्च नहुदा मन्दिर नै ओझोलमा परेको छ। गोरखनाथ शक्तिपिठ मन्दिर भएका कारण पनि निश्चित समयमा मात्र उक्त क्षेत्रमा चहलपहल हुने गरेको बझाङको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए।

‘मन्दिरको संरचना समेत पुर्ण रुपमा निर्माण गर्न सकिएको छैन्’ जोशीले भने, ‘त्यस कारण पनि पर्यटकको रोजाईमा उक्त मन्दिर पर्न सकेको छैन्।’ उता अछामको मंगलसेन नगरपालिमा रहेको सुर्कोट मष्टादेवी मन्दिर पनि शक्तिपीठ भित्र पर्ने गर्छ। उक्त मन्दिरमा पनि निश्चित समयमा मात्र पाठपुजा हुने गरेको मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर वोहराले बताए।

‘संघीय सरकारले सुदूरपश्चिमका प्रमुख १० पर्यटकीय गन्तव्य भित्र उक्त मन्दिरलाई समेत छनोट गरी  ५० लाख बजेट दिएको थियो।’ उनले भने। ‘तर उक्त बजेटसंगै स्थानीय तहले समेत खर्च गर्दै आएपनि आवश्यक पुर्वाधार निर्माणको कामले पुर्णता पाएको छैन्।’

प्रचारप्रसार गर्नुपर्ने पर्यटकीय स्थललाई वेवास्ता गर्दा सरकारको छनोटमा परेका गन्तव्य पर्यटकको रोजाईमा पर्न सकेका छैनन्। राजनितिक आडमा दश गन्तव्य छनौट गरिदा सुदूरपश्चिमका नाम चलेकै धार्मिक तथा पर्यटकीय स्थल ओझेलमा परेका छन्। छनौटमा परेका गन्तव्यको लगानी समेत वालुवामा पानी जस्तै भएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस