कैलालीमा भारतीय रुपैँया र गरगहना चोरी गर्ने गिरोह सक्रिय
भारतको लुधियानामा घर मालिकलाई विषादी खुवाएर झण्डै डेढ करोडको चोरीमा संलग्न ८ जनालाई कैलाली प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। गत साउनमा जिल्ला अदालत कैलालीले चार जनालाई कारागार चालन गर्न र अन्यलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी बुझाउन नसकेपछि आठै जना पुर्पक्षका लागि कारागार चलान भए।
यस्तै गत असोजमा पनि जिल्ला अदालतले भारतमा नगद र गरगहना चोरीमा संलग्न थप छ जनालाई पुर्पक्षका लागि जिल्ला अदालतले कारागार चलान गरेको छ। त्यस्तै २६ लाख भारतीय रुपैँया चोरीमा संलग्न दुई महिला पनि धरौटी बुझाउन नसकेपछि कारागार चालन भएका छन्।
पछिल्लो समय प्रहरीले सक्रियता बढाएपछि भारतमा नगद र चोरीमा संलग्नहरु पक्राउ पर्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रोजगारी गर्न भनी भारतका विभिन्न शहर जानेहरु रोजगारदाताको विश्वास जितेर चोरीमा संलग्न हुने क्रम बढेको बताए।
उनीहरुले नगद, गरगहना चोरी गर्दै आएको उनी बताउँछन्। रोजगारी गर्ने बहानामा जानेहरुको मुख्य उद्देश्य चोरी नै हुने गरेको प्रहरी बताउँछन। उनीहरुले नेपालबाटै चोरी गर्ने योजना बनाएर जाने गरेको अनुसन्धानबाट खुल्दै आएको छ। खासगरी रोजगारदाताको विश्वास जितेर उनीहरुलाई वेहोस बनाउने विषादी खुवाएर चोरी गर्ने बढेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।
उनका अनुसार गत जेठ देखि हाल सम्म भारतमा नगद र गरगहना चोरीमा संलग्न ४० भन्दा बढि व्यक्तिहरु कैलालीमा पक्राउ परिसकेका छन्। उनीहरु मध्ये धेरै धरौटीमा छुटेका छन् भने केही अनुसन्धानकै क्रममा छन्। कैलालीको लम्की क्षेत्र र गोदावरी क्षेत्रबाट रोजगारी गर्न भारत जानेहरु बढि चोरीमा संलग्न भएको देखिएको प्रहरीले बताउँदै आएको छ।
तर स्पष्ट कानूनको अभावमा नेपाल प्रहरीलाई मुद्दा चलाउन समस्या हुने गरेको छ। स्पष्ट कानून अभावकै कारण चोरीमा संलग्नहरुलाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउने गरेको छ। त्यसका अतिरिक्त राजनीतिक संरक्षण गर्ने प्रवृत्तिले पनि चोरीका घटना बृद्धि हुदै गएका छन्।
जसको प्रत्यक्ष मारमा भारतमा रोजगारी गर्दै आएका इमानदार मजदुर परिरहेका छन् भने चोरीकै कारण कैलाली सहित नेपालको बदनाम हुदै गएको छ। कैलालीका प्रहरी नायब उपरिक्षक बस्नेतले स्पष्ट कानूनको अभावमा इन्टरपोल मार्फत आउने उजुरीमा मात्रै कारवाही गर्दै आएको बताए तर अन्यको हकमा ज्यान मार्ने उद्योग, संगठित अपराध र सार्वजनिक मुद्दा पनि चलाउने गरेको बस्नेतले जनाए।
पछिल्लो पटक मात्रै भारतमा भएको ७८ किलो सुन चोरी काण्डमा संलग्न भनिएका तीन जनालाई सीमावर्ती भारतीय बजार बनबासामा पक्राउ गरिएको छ। उनीहरुलाई आठ किलो सुन सहित पक्राउ गरिएको हो। तर उक्त घटनालाई भारतीय प्रहरीले नै सार्वजनिक गरेको छैन्। त्यसमा पनि सुदूर पहाड घर भएर कैलालीमा बस्दै आएकाहरको संलग्नता रहेको आशंका गरिएको छ।