सुदूरपश्चिम सरकारले चैतभित्र जडीबुटी उद्योग स्थापना गर्ने
धनगढी: सुदूरपश्चिम प्रदेशमा चैत महिना भित्र जडीबुटी उद्योग स्थापना गर्ने निर्णय भएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको स्विकृत कार्यक्रम अन्तरगत जडीबुटी उद्योग स्थापना गर्ने निर्णय भएको हो।
शुक्रबार सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको सहभागितामा चैत्रभित्र जडीबुटी उद्योग स्थापना गर्ने निर्णय भएको जनाइएको छ।
सार्वजनिक निजि साझेदारी क्षेत्र अन्तरगत सुदूरपश्चिम प्रदेशमा जडीबुटी संकलन, खेति विस्तार, प्रशोधन र उत्पादन, कम्पनी स्थापना र संचालनका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरिएको मन्त्रालयका सहायक वन अधिकृत भोजराज पाठकले बताए।
यस्तै सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालय र संघीय सरकार मातहतको वनस्पती विभागबिच संयुक्त रुपमा सुदूरपश्चिममा जडीबुटीको पहिचान गरी उत्पादन, भण्डारण र प्रशोधनको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रहरूको नक्सांकन गर्ने निर्णय समेत भएको उनले बताए।