सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिग : शनिबारदेखि छैटौं चरणको खेल हुने

२०७६ पुष २६, ०७:३३ खबर संवाददाता

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ। पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन्। छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन्। पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन्। यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ। यी दुवै टिम अपराजित छन्।

शनिबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ। साथै तीन जना खेलाडी कारबाहीमा परेकाले मछिन्द्रलाई केही असहज भने हुने छ। मनाङविरुद्धको खेलमा भएको झडपका कारण मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले कारबाही स्वरुप सातौं चरणको खेल पनि गुमाउने छन्।
दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन्। मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ।

शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन्। तर मनाङका तीन मुख्य खेलाडी भने अनुशासनको कारबाहीमा परेका छन्। जगजीत श्रेष्ठ र अशोक बराल दुवैले शनिबारकोसहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले पनि २ खेल गुमाउने छन्। पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ। चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी १२ अंकसहित शीर्ष स्थानमा रहँदा अपराजित रहेका मनाङ मस्र्याङ्दी र मछिन्द्र क्रमश ११ र १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।
 

कमेन्ट लोड गर्नुस