सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो बढेपछि डडेल्धुराका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाईदै

२०७६ पुष २४, १२:२५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ। केही दिनदेखि अत्याधिक चिसो बढेका कारण जनजीवन प्रभावित हुन थालेपछि डडेल्धुरामा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विभिन्न सार्वजनिक स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि डडेल्धुरा प्रशासनले चोक–चोकमा आगो बालिरहेको छ। जिल्ला सदरमुकामको अमरगढी–५ बसपार्क क्षेत्रका तिन ठाउँ, तुफानडाडाँमा एक ठाउँ र अमरगढी–७ को रातोगुना चोकमा आगो बालेको छ।जाडोका कारण खासगरी सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएकाले गृहमन्त्रालयको केन्द्रीय नीति अनुसार ठाउँ ठाउँमा आगो बाल्ने काम शुरु गरिएको हो।

घरबाट निस्किएपछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाउँदा सर्वसाधारण र बटुवाहरुलाई केही राहत पुगेको भन्दै खुशी भएका छन्। स्थानीय चोकहरुमा आगो बाल्न थाल्नासाथ स्थानीय व्यापारीहरु, बटुवालगायत आगो ताप्न झुम्मिएका छन्।  

जाडो अवधिभर डडेल्धुरा जिल्लाका ठाउँ(ठाउँमा ठुलठुला मुडा बालेर आगो ताप्ने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ। डिभिजन वन कार्यालय डडेल्धुरा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिल्ला सुरक्षा समितीको पहलमा आगो बालीएको हो। चिसो बढेपछि ग्रामीण भेगबाट सदरमुकाम आउनका लागि निकै समस्या भएको छ यस्तै चिसो रहिरहने हो भने व्यापार व्यबसायमा पनि गिरावट आउने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस