सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको दुधुवा र मन्सुरी घुम्ने योजना रद्ध गरेर डडेल्धुरामा रमाउँदै पर्यटक

२०७६ पुष १९, ०७:४८ खबर संवाददाता

हिमपात भएपछि भारतीय पर्यटकहरु हिउँ हेर्न डडेल्धुरा पुगेका छन्। डडेल्धुराको हगुल्टे लेक र वरपरका क्षेत्रमा भारी हिमपात भएपछि उनीहरु रमाउनका लागि डडेल्धुरा पुगेका हुन्। शुक्रबार अपराह्न साथी, बालबच्चासहित डडेल्धुराको हगुल्टे लेकमा भेटिएका उत्तर प्रदेश भारतका सुधीसले पहिलो पटक आखा अगाडी नै हिउँ देखेपछि खुसी व्यक्त गरे।

‘हामीहरुले हिउँ देखेको नै पहिलो पटक हो,’ उनले भने, ‘यसपाली भारतकै दुधुवा राष्ट्रिय निकुञ्ज र मन्सुरी घुम्ने योजना बनाएका थियौँ, ईन्टरनेट मार्फत सबैभन्दा नजिक डडेल्धुरामा हिमपात भएको जानकारी पाएपछि उक्त योजना रद्ध गरेर यहाँ आएका हौँ।’ 

समाचार संकलनका लागि हगुल्टे लेक पुगेका नेपाल–भारत पत्रकार संघका महासचिव शिवराज भट्टले शुक्रवार मात्रै झण्डै ४० जना भारतीय पर्यटक हिउँ हेर्न त्यहाँ पुगेको बताए। ‘आँखा अगाडि नै हिउँ देख्दा भारतीय पर्यटक निकै खुसी थिए,’ भट्टले भने, ‘तर पर्यटकीय क्षेत्रको विषयमा जानकारी नराखिदा भने उनीहरुले केही गुनासो पनि सुनाए।’

उनका नअुसार अत्तरियादेखि हगुल्टे सम्म एउटा पनि पेट्रोल पम्प नहुँदा समस्या भएको गुनासो भारतीय पर्यटकले पोखेका थिए। भट्टका अनुसार भारतीय पर्यटकले भनेका थिए– ‘पेट्रोल पम्प नभए पनि त्यस्को जानकारी ठाउँ–ठाउँमा हुनुपर्ने थियो। उक्त जानकारी भए हामी अत्तरियाबाटै ईन्धनको थप व्यवस्था गरेर आउने थियौँ।’

उनीहरुले नेपालमा खर्च गर्ने ठाउँ समेत नभेटाएको गुनासो गरेका थिए। मन्सुरी र दुधुवा घुम्दा झण्डै डेढ लाख खर्च हुने थियो। ‘हामी डडेल्धुरा आएर ५० हजार खर्च गर्न खोजिरहेका छौँ। तर के कुरामा खर्च गर्ने ? अन्यत्र घुम्नका लाग ईन्धनकै समस्या छ।’ भट्टका अनुसार ति भारतीय पर्यटकको गुनासो थियो। 

अहिले भ्रमण बर्ष समेत चलिरहेको अवस्थामा सुदूरपश्चिम घुम्न आउने भारतीय पर्यटकको सङख्या बढेको छ। तर सीमा नाकाहरुमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको बारेमा जानकारी नहुँदा भने उनीहरुलाई अन्यौलता हुने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस