सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुचौँडी नगरपालिकाका १० वटै वडा सचिव विहीन

२०७६ पुष १९, ०१:२५ खबर संवाददाता

बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिव विहीन रहेका छन्। नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिए। उनले भने, “वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ।”

दश वटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए। वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ।

उनले भने, “सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ।” वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन्। वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीयवासी रामबहादुर धामीले बताए।

“गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ।” उनले भने। स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन।

कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन्। कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो। रासस 

कमेन्ट लोड गर्नुस