सीमा सुरक्षाका लागी कैलालीको भुईयाँफाटामा बिओपि स्थापना
कैलाली: कैलालीको कैलारी गाउँपालिका– ७ भुईयाँफाटामा बिओपि स्थापना गरिएको छ। सशस्त्र पहरी बल नेपाल नम्बर ३४ गण कैलालीले उक्त स्थानमा बिओपि स्थापना गरेको हो।
आज एक कार्यक्रमको आयोजना गरेर उक्त बिओपिको उद्घाटन गरिएको छ। स्थापना भएको बिओपिले अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमा स्तम्भ एवं दशगजा क्षेत्रको नियमित अनुगमन तथा रिपोटिङ्ग, नियमित बोर्डर पट्रोल, आम नागरिकमा सुरक्षाको प्रत्याभुति दिने, अवैध हात–हतियार, गोलिगट्ठा एवं विष्फोटक पदार्थ र लागु औषध ओसार–पसार नियन्त्रण गर्ने र मानव बेचबिखन लगायतका सीमावर्ति अपराध हुन नदिने जस्ता कार्य गर्ने बताइएको छ।
हाल कैलालीका सीमानाकामा नेपालका तर्फबाट ४ वटा बिओपि छन् भने समकक्षी भारतीय सुरक्षा बलका २० वटा बिओपि छन्। नेपाली सुरक्षा बलका ४ वटा बिओपिमा थप ६ वटा थप्ने योजना रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरिक्षक कमलप्रसाद तिउसिनाले बताए।