सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी र दार्चुलाका नौ पालिकामा मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन हुने

२०७६ पुष १५, ०३:११ खबर संवाददाता

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडी र दार्चुलामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने भएको छ।  बैतडीका पाँच स्थानीय तह र दार्चुलाका चार स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालनको तयारी भएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक मोहनदेव भट्टले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आव २०७६÷७७ को ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको तयारी भएको हो। बैतडीको पाटन नगरपालिका–१, सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–३, दोगडाकेदार गाउँपालिका–४ र शिवनाथ गाउँपालिका–२ र ४ मा सो कार्यक्रम सञ्चालन हुन लागेको हो।

कार्यक्रमअन्तर्गत पाटन, सिगास, सुर्नया, दोगडाकेदारमा बाख्रापालन र शिवनाथमा कुखुरापालनको कार्यक्रम लागू हुनेछ।  यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–४, मार्मा गाउँपालिका–६, नौगाड गाउँपालिका–६ र अपी हिमाल गाउँपालिका–२ र ६ मा सो कार्यक्रम सञ्चालन हुने तयारी भएको बताइएको छ।

कार्यक्रमअन्तर्गत शैल्यशिखर र मार्मामा बाख्रापालन, नौगाडमा बाख्रा र भेडापालन तथा अपी हिमालमा भेडापालन कार्यक्रम लागू गरिने केन्द्रले जनाएको छ। कार्यक्रम लागू हुने स्थानीय तहहरुमा समन्वय समिति गठन गरिन लागिएको पशु चिकित्सक भट्टले जानकारी दिए।

नमूना कृषि कार्यक्रमका लागि कम्तीमा ५० जना कृषक घरधुरी समेटिनुपर्ने, ताकिएअनुसार न्यूनतम मापदण्ड हुनुपर्ने र सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ।  रासस 
 

कमेन्ट लोड गर्नुस