सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमामा हुने सास्तीका कारण भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्राउन समस्या

२०७६ पुष १४, ०९:५९ कमल सावद

धनगढी: सुदूरपश्चिमका सीमा नाकामा पाइने सास्तीका कारण भारतीय पर्यटक घुम्न नआउने गरेको गुनासो गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० आउन एक दिन मात्र बाँकि रहदा प्रदेशका पर्यटकिय स्थल घुम्न आउने इच्छा हुँदाहुँदै पनि सिमा क्षेत्रमा पाउने सास्तीले समस्या हुने गरेको गुनासो गरिएको हो। 

सुदूरपश्चिममा सुरक्षाको पूर्ण प्रत्याभुती समेत नभएको भारतीय पर्यटकले गुनासो गरेका छन्। सिमा क्षेत्रमा सबैभन्दा बढि सुरक्षाकर्मीले दुःख दिने गरेका छन्। भारतीय पत्रकार रामचन्द्र शुल्काले नेपाल र भारतको धेरै विषयमा एकरुपता रहेको बताए। 
उनले भारत र नेपालको भाषाको लिपि पनि एउटै भएकाले नेपाल आउने भारतिय पर्यटकलाई सुविधा दिन आग्रह गरे। ‘भारत र नेपालको धार्मिक आस्था एउटै छ’ उनले भने, ‘भाषा फरक भएपनि लिपि एउटै हो। भारतबाट आउने पर्यटकलाई सुविधा चाहियो। उनीहरुलाई सुरक्षा र बासको उचित व्यवस्था गर्नुपर्छ।’ 

छलफल कार्यक्रमको आयोजक नेपाल–भारत पत्रकार संघका संस्थापक अध्यक्ष हिक्मत रावलले सिमानामा भारतीय पर्यटकलाई सास्ती रहेको बताए। सुदूरपश्चिम प्रदेशले भारतबाट आउने पर्यटकको सुविधामा ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो। उनले भने, ‘सुदूरपश्चिममा पाईला टेक्ने पर्यटकलाई स्वागत गरौ। उनीहरुको सुविधाका बारेमा ख्याल गर्नुपर्छ।’

सिमा क्षेत्रमा विभिन्न बहानामा नेपाली सुरक्षा अधिकारीहरुले दुःख र हैरानी दिने गरेको भारतीय नागरीकहरुको गुनासो छ। तर प्रदेश सरकारले सिमा नाकामा आवागमनको सहज व्यवस्थापन गरेमा भ्रमण वर्षमा भारतीय पर्यटक अत्याधिक आउने दावी गरिएको छ। भारतीय पर्यटकलाई यातायात पासमा समस्या भएकाले सीमा नाकामा प्रदेश सरकारले एक द्धवार प्रर्णाली मार्फत समस्या समाधान गर्नुपर्ने माग पनि गरिएको छ। पर्यटक मनोरञ्जनका लागि घुम्ने भएकाले सोही अनुसारको व्यवहार पनि हुनपर्ने सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले बताए।

‘सुदूरपश्चिमका लागि तेस्रो मुलुकका पर्यटक ल्याउन धेरै समय लाग्छ। यूरोपबाट पर्यटक यहाँ आउन समय लाग्छ’ हमालले भने, ‘भारतका पर्यटकलाई मुख्य पर्यटक मानेर काम गर्नुपर्छ। उनीहरुमा घुम्ने बानीको विकास भएको छ। वर्षको दुई पटक उनीहरु घुम्छन्। उनीहरुलाई हामीले पर्यटक मान्नुपर्छ।’ ‘भारतबाट पर्यटक नआउनुको प्रमुख कारण नागरिकको तुच्छ व्यवहार र प्रशासनको कमजोरी हो’ उनले थपे। 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका धार्मिक क्षेत्रहरुको मात्र प्रचार गर्न सके र भारतीय पर्यटकलाई आवागमनमा सहजता ल्याउन सके सुदूरपश्चिममा भ्रमण वर्ष सफल हुने दावी गरिएको छ। त्यस्तै ट्राफिक व्यवस्थापन र प्रदेशमा पर्यटकलाई यात्रामा सुरक्षाको प्रत्याभुति दिन माग गरिएको छ।

 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सिमामा यातायात कार्यालयसंग समन्वय गर्दै सवारी पासको व्यवस्था गर्न आवश्यक रहेको बताए। उनले सुरक्षा निकायबाट कुनै पर्यटकलाई सास्ती भए कारबाही हुने समेत आश्वासन दिएका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटकलाई प्राथमिकता दिँदै भ्रमण वर्षमा सहज आवागमनको व्यवस्था मिलाउने दावी गरेको छ। भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्राउन प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश सरकारले बताएको हो। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटक वन तथा वातावरण मन्त्री मायाँ भट्टले कैलाली–कञ्चनपुर सहित पहाडी जिल्लाका नाकाबाट पनि सिमा क्षेत्रमा रहेका भारतका पर्यटक आउने विश्वास गरेिकी छन्। 

‘पर्यटकलाई यातायातको व्यवस्था प्रदेश सरकारले गर्ने छ’ मन्त्री भट्टले भनिन् ‘कानूनी समस्या भएपनि सहज वातावरण बनाउनु पर्ने छ।’ ‘सुरक्षा निकायको काम सुरक्षा प्रदान गर्ने हो। सहजताका लागि प्रयास गर्ने छौ। सुदूरपश्चिममा आउने पर्यटकलाई यातायातको सुविधा दिनेछौ’ उनले भनीन।
नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल र भारतका पत्रकार संघका अध्यक्ष पत्रकार दिलबहादुर छत्यालको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन मन्त्री माया भट्ट प्रमुख अतिथि थिएन्। ६ बुँदे घोषणा पत्र जारी गर्दै छलफल  समापन भएको छ। 

धनगढी घोषणा पत्र 

- पौष १६ गते अर्थात १ जनवरी २०२० देखि शुरु हुन गई रहेको नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल–भारत दुवै देशका पत्रकारहरुले सहज रुपमा समाचार सँकलन गर्न पाउन भन्ने उद्देश्यले सहज वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गर्दछ।
- दुवै देशका सिमा नाकामा नेपाल र भारतका नागरिकलाई सहज आवागमनको अवस्था श्रृजना गर्न र कुनै पनि चेकजाँचका नाममा हैरानी नगर्न स्थानीय प्रशासनलाई समेत आग्रह गर्दछ।
- नेपाल भ्रमण वर्ष २०२० को अवसरमा राष्ट्रिय स्तरमा सञ्चारकर्मीहरुले समाचार सम्प्रेषका लागि आवश्यक पर्ने सूचना सहज रुपमा स्थानीय स्तरमा पाउने वातावरण गर्न आग्रह पनि प्रदेश सरकारसँग आग्रह गर्दछ।
- नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार तथा आवश्यक हामी नेपाल भारत दुवै देशका सञ्चारकर्मीहरु प्रतिवद्धता व्यक्त गर्दछौं।
- पर्यटन व्यवसायीहरु, सम्वन्धित संघ सस्थाहरु र सरकारको समन्वयात्मक भुमिकालाई थप प्रभाकारी बनाउन पहल गर्ने। 
- नेपाल भारत बीच ऐतिहासिक, धार्मिक, साँस्कृतिक र बन्धुत्वको सम्बन्ध रहेको पृष्ठभुमिमा दुई देशका सिमामा देखा पर्ने समस्याको वार्ता र सम्वाद मार्फत समाधान निकाल्न दुवै देशका पत्रकारहरुले सकारात्मक भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछौ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस