सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकारी कागजात किर्ते गर्दै ठगी धन्दा मौलायो, अधिकासं आरोपी फरार

२०७६ पुष १३, ०६:३९ खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीमा बर्षाैदेखि सरकारी कागजात किर्ते गर्दै ठगी धन्दा चलिरहेपनि नियन्त्रणमा चुनौती बढ्दै गएको छ। विगतमा मिटर ब्याज र ढुकुटी मार्फत ठगी गिरोह सक्रिय रहेकोमा अहिले विभिन्न सरकारी निकायको फर्जी कागजात बनाएर ठगी धन्दा मौलाएको छ तर नियन्त्रणमा भने चुनौती बढ्दै गएको छ।

ठगी धन्दामा सक्रिय रहेकाहरु विरुद्ध सरकारी छापदस्तखत किर्तेमा मुद्धा चलाईएको छ तर अधिकासं अहिले पनि फरार रहेका छन्। कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेका धनगढीको अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत र प्रदिप अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन्।

उनीहरु दुवै जना विरुद्ध पनि सरकारी छापदस्तखत किर्तेमा मुद्धा दर्ता भएपनि अहिले सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। उनीहरुको खोजी जारी भएपनि पक्राउ गर्न नसकिएको प्रहरी निरिक्षक कार्कीले बताए। टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन गर्दै पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो।

दुवै सञ्चालक उक्त मुद्धाबाट सहजै उन्मुक्ती पाउनका लागि आर्थिक चलखेलमा लागेको समेत समाचार स्रोतको दावी छ। यस्तै धनगढीमा बर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक राजाराम चौधरी समेत अहिले सम्म पक्राउ परेका छैनन्। गत आर्थिक बर्षमा २९ जना विद्यार्थीबाट झण्डै आधा करोड रकम संकलन गर्दै चौधरी महिनौदेखि फरार रहेका छन्।

फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई झण्डै ४ बर्ष सम्म नै ठगेको थियो। सञ्चालक चौधरीलाई प्रहरीले एक पटक पक्राउ गरेकोमा ९९ लाख धरौटीमा छुटेका थिए। 

स्थानीय सरकार, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका नक्कली छाप बनाएर ठगी गर्ने अन्य गिरोह समेत कैलालीमा सक्रिय रहेपनि प्रहरीले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन चाँसो नदिएको आरोप लाग्दै आएको छ। तर प्रहरी निरिक्षक कार्कीले भने सरकारी छापदस्तखत किर्ते गर्नेहरुको खोजी कार्य जारी रहेको बताए। 

कमेन्ट लोड गर्नुस