सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अमर माविमा महायज्ञ हुने

२०७६ पुष १३, ०६:३१ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिका ६ वनवेहडामा रहेको अमर माध्यमिक विद्यालयमा महायज्ञ सञ्चालन हुने भएको छ। विद्यालयमा आगामी माघ ११ गतेदेखि १८ गतेसम्म विराट सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो।

२०२६ सालमा स्थापना भएको विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ। विद्यालय स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्तीसहित महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले जानकारी दिएको छ। मूल आयोजक समितिका संयोजक वीर बहादुर शाहले विद्यालयमा १२ कक्षा सम्म सञ्चालन गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण सँगै शैक्षिक विकासका लागि महायज्ञ सञ्चालन गर्न लागिएको बताए।

पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उप–संयोजक पुरन सिंह कडायतले यस क्षेत्रकै पुरानो विद्यालय भएकाले उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न महायज्ञ महत्वपूर्ण हुने बताए।

विद्यालयका प्रधानाध्यापक उजिरसिंह कुँवरले खरिद गरिएको विद्यालयको जमिनको रकम समेत केही तिर्न बाँकी रहेकोले उक्त रकम तिर्नका लागि र विद्यालयको शैक्षिक विकास गर्नका लागि महायज्ञ आवश्यक भएको बताए। विद्यालयको जमिन खरिदका लागि रानीफाँटा सामुदायिक बनले ११ लाख ११ हजार १ सय ११ रकम सहयोग गरेको थियो। नवदुर्गा सामुदायिक वनले १० लाख र भैरव महिला सामुदायिक वनले १ लाख सहयोग गरेको थियो। पत्रकार सम्मेलनमा महायज्ञ सञ्चालनको सहयोगार्थ वडा नम्बर ६ का अध्यक्ष कमला शर्माले मूल आयोजक समितिलाई एक लाख ५१ हजारको चेक हस्तान्तरण समेत गरेकी छिन्।

विद्यालयमा हाल कक्षा १० सम्मको पढाई हुँदै आएको छ। महायज्ञ सञ्चालनका लागि ११ वटा उप समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रचार प्रसार उप–समितिको संयोजकमा चक्र बोगटी, कलश संरक्षण तथा व्यवस्थापन उप–समिति संयोजक सिद्धराज जोशी, सङ्घ संस्था समन्वय उप–समितिको संयोजकमा दान बहादुर कुँवर, राजनीतिक दल समन्वय उप–समितिका संयोजक कृष्ण प्रसाद ओझालाई तोकिएको छ। यस्तै आर्थिक सङ्कलन उप–समितिको संयोजक हेमराज सुवेदी, स्वयंसेवक परिचालन उप–समितिको संयोजकमा बहादुर खड्का, मण्डप निर्माण उप–समिति संयोजकमा तुलसीराम चौधरी, वडा, गाउँपालिका, नगरपालिका समन्वय उप–समिति संयोजक ६ नम्बर वडाध्यक्ष कमला शर्मा, सरसफाइ उप–समिति संयोजकमा रामविलाश चौधरी, योग उप–समिति संयोजकमा खगेन्द्र प्रसाद जोशी र सूचना तथा सञ्चार उप–समितिको जिम्मेवारी सुरत रावत ‘डोटेली कान्छा’लाई दिइएको छ।

महायज्ञमा युवा कथा वाचक अमृत शरण देवाचार्यले संगितमय तथा लिलामय श्रीमद्भागवत कथा वाचन गर्ने मूल आयोजक समितिले जनाएको छ। महायज्ञको माघ ११ बिहान शान्तिकलश यात्रा गरी दिउँसो १ बजे उद्घाटन गरिने छ। महायज्ञ सञ्चालनका लागि २० लाख खर्च लाग्ने अनुमान छ। ४८ लाख आम्दानीको अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस